१ कार्तिक २०८३, आइतबार

उद्योग विकासका लागि भन्सारमा सक्दो सहुलियत दिइनेछ : उद्योग मन्त्री मातृका यादव

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा स-सना घरेलु उद्योगको विकास तथा विस्तारका लागि भन्सारमा सक्दो सहुलियत उपलब्ध गराउने तयारी भइरहेको बताउनुभएको छ ।

स्थानीय भृकुटीमण्डपमा यही चैत ९ गतेदेखि मंगलबारसम्म जारी २९ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको समापन समारोहमा मन्त्री यादवले उद्यमीलाई कच्चा पदार्थ तथा यन्त्रको आयातमा केही प्रतिशत छुट दिएर स्वदेशी उत्पादन वृद्धि गर्न प्रोत्साहन गरिने बताउनुभयो ।

प्राकृतिक स्रोत साधनले मुलुक धनी भएको बताउँदै उहाँले भन्नुभयो, “उद्योगीले दक्ष जनशक्ति र क्षमता वृद्धि गरेर आफ्नो उत्पादन बढाउनुपर्छ, विदेश निर्यात गर्नुपर्छ ।” देश विकासका लागि जनताले बलियो जनादेश दिएर सरकार गठन भएको जनाउँदै उहाँले देश र जनताको समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।

उद्योग सचिव यामकुमारी खतिवडाले उद्यमीले गुणस्तरीय उत्पादन गर्नुपर्नेमा जोड दिँदै स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय तहमा बजार व्यवस्थापनका लागि मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । उक्त कार्यक्रममा ६८ जना उद्योगीलाई पुरस्कार वितरण गरिएको थियो । –रासस