
काठमाडौं १३,चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मुलनका लागि यस बर्षको विद्यालय भर्ना अभियानमा आफूले एकजना बच्चालाई विद्यालय भर्ना गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवटारमा मंगलबार राष्ट्रिय यूवा परिषदले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी बैसाख ५ गतेका दिन विद्यालय जाने उमेरको कुनै बालक बालिकालाई घरबाट आफैले विद्यालयमा लगेर भर्ना गराउने घोषणा गरेका हुन् ।
“यसपालिको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरको एकजना बच्चालाई विद्यालयमा लगेर नाम लेखाइदिन्छु” प्रधानमन्त्री ओलीले भने “मन्त्री र माननीयहरुले पनि त्यसै गर्नुहुन्छ ।” निरक्षरतालाई दुइबर्ष भित्र उन्मुलन गर्ने नीति अन्तरगत यसपालीको विद्यालय भर्ना अभियानलाई ब्यापकता दिन लागिएको प्रधानमन्त्री ओलीले बताए । “अब दुईबर्षमा नेपालबाट निरक्षरता उन्मुलन गर्नका लागि यसपाली प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशका मुख्य मन्त्री, मन्त्री, साँसद र स्थानीय तहका सबै जनप्रतिनिधीले एक एक जना बच्चा लगेर विद्यालयमा भर्ना गराउने छन् ।”
प्रधानमन्त्री ओलीले मधेसका केही मुसहर र डोम जातिको साक्षरता प्रतिशत न्यून रहेकोले त्यही समुदायका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा आफ्नो भएको बताए । “मैले निश्चित त गरिसकेको छैन तर तरार्इको कुनै जातिका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा मलाइ छ ” प्रधानमन्त्री ओलीले भने ।

यस अभियान बीचैमा विद्यालय छोड्ने दर बढाउन नभइ विद्यालयको पढाइ पूरा गराएर शतप्रतिशत साक्षरता भएको देशमा नेपाललाई पुर्याउनका लागि भएको प्रधानमन्त्री ओलीले बताए । “यो एउटा उत्प्रेरणा जगाउने अभियान हो” प्रधानमन्त्री ओलीले भने “नेपाललाई अगाडि बढाउन अब सरकारले अब यस्तै उत्प्रेरक अभियान सबै क्षेत्रमा सुरु गर्छ ।”
प्रधानमन्त्री ओलीले यूवाहरुलाई देश निर्माणमा लाग्न आग्रह पनि गरेका छन् । भ्रष्टाचारलाई निर्मूल पार्न यूवाहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए । युवा परिषदलाई गच्छे अनुसार सरकारले सहयोग गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरेका छन् ।















प्रतिक्रिया