४ कार्तिक २०८३, बुधबार

सुरु भयो ‘नाई नभन्नू ल-५’, स्वस्तिमासँग पोज दिने ‘ह्याण्डसम’ को हुन् ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । झापाको बिर्तामोडबाट सोमबारदेखि ‘नाई नभन्नू ल–५’को सुटिङ शुरु भएको छ । झापा र इलामका रमणीय स्थानमा खिचिने फिल्मको झापास्थित सालबारी पोखरीबाट फिल्मको सुटिङ सुरु भएको हो । पहिलो दिन अभिषेक नेपाल र स्वस्तिमा खड्काले सट दिए ।

कान्तिपुर फिल्म एकेडेमीमा पढ्दै गर्दा निर्देशक विकास आचार्यको नजरमा परेका अभिषेकले यही फिल्मबाट डेब्यु गर्न लागेका हुन् । अभिषेक फिल्ममा स्वस्तिमाको जोडीको रुपमा देखिनेछन् । हरेक फिल्मबाट नयाँ नयाँ कलाकारलाई जन्माउँदै आएका आचार्यले यो फिल्मबाट पनि अभिषेकसँगै सेड्रिना शर्मालाई लन्च गर्दैछन् । झापा मै मूलघर भएकी सेड्रिनाले अनुभव रेग्मीको जोडीको रुपमा अभिनय गर्नेछिन् ।

निर्देशक आचार्यले झापाको बिर्तामोडमा ३ दिन र इलाममा २५ दिन सुटिङ गरी काठमाडौं फर्कने जानकारी गराए । ‘काठमाडौंमा हप्ता दिनको सुटिङपछि फिल्म सकिन्छ,’ आचार्यले भने, ‘कथामा पहिलाका शृंखलाको स्वाद भए पनि यो पटक प्रस्तुतिमा धेरै मेहनत गरिएको पाउनु हुनेछ ।’

आचार्यले फिल्म भदौ ८ मा ल्याउने तयारी गरिरहेको पनि जानकारी गराए । सोही मितिमा भुवन केसीले निर्माण गर्ने फिल्म ‘क्याप्टेन’ पनि सार्वजनिक हुने चर्चा छ । ‘नाई नभन्नू ल’को परिवारमा यो पटक दिलिप रायमाझी र केकी अधिकारी थपिएका छन् । दोस्रो शृंखलादेखि जोडिएकी प्रियंका कार्कीले यो भागमा पनि निरन्तरता पाएकी छिन् । आचार्यले केकीसँग काम गर्ने अवसर बल्ल जुरेको बताए ।

विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् भने फिल्मको संगीत बसन्त सापकोटाले तयार पारेका छन् ।