
विराटनगर, ११ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारका विषयमा फेरि धाबा बोलेका छन् ।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा विराटनगरमा आइतबार संयुक्त रुपमा आयोजित भेटघाट एवं छलफल कार्यक्रममा मन्त्री खतिवडाले लहडबाजीमा शेयरबजारमा लगानी नगर्न आग्रह गरे । बजारको माग र पूर्तिको सिर्जनाका कारण शेयरको समस्या उत्पन्न भएको बताउँदै अर्थमन्त्री खतिवडाले लहडवाजीमा शेयर लगानी गर्न नहुने तर्क गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले देशमा लगानी गर्न तत्काल १४ खर्व आवश्यक भएकाले निजी क्षेत्रको सहयोग आवश्यक रहेको प्रष्ट पारे । ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गर्दै उनले यसको निर्माणमा देखिने विभिन्न समस्या समाधान गर्न सरकारले फाष्ट ट्रयाकबाट कार्य गर्ने प्रतिबद्धता जनाए ।
अर्थमन्त्री खतिवडाले सार्वजनिक निजी मोडलमा औद्योगिक विकास क्षेत्र निर्माण गर्न उद्योगीलाई आग्रह गर्दै यसमा सरकार सहकार्य गर्न तयार रहेको बताए ।
अर्थमन्त्री खतिवडाले बैंकको व्याजदर परिवर्तनले उद्यमीलाई मर्का परेको बताउँदै उद्योगमा बैंकले लगानी गर्दा एउटा निश्चित समय तोकी व्याजदर निर्धारण गर्नुपर्ने पनि बताए ।
प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपालमा रहेको प्रतिबन्धित पाँच सय र एक हजार भारतीय रुपैयाँका समस्या समाधानका विषयमा कुरा हुने उनको भनाइ छ ।















प्रतिक्रिया