३ कार्तिक २०८३, मंगलबार

कस्तो रहला कांग्रेसी युवाहरूको संगठनभित्र वैचारिक विद्रोह ?

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । नेपाली कांग्रेसभित्र केही युवा नेताहरूले देखाएको वैचारिक ध्रुवीकरणले केन्द्रीय समितिको बैठकमा प्रवेश पाएको छैन ।

वरिष्ठता र वरियताको विवादतिर मोडिएको बैठकमा नेतृत्वको सांगठनिक अराजकताको विरोधमा युवा नेताहरू चन्द्र भण्डारी, गुरूराज घिमिरे, गगन थापादेखि विश्वप्रकाश शर्मासम्म लागेका थिए । चुनावलगत्तै सभापति शेरबहादुर देउवाको सर्वसत्तावादी नियतको विरोधमा लागेका उनीहरूको बहस त्यतिबेला नै ध्वस्त भयो जतिबेला देउवाले युवा मध्येका शर्मालाई प्रवक्तामा नियुक्त गरे ।

तर केही नेताले नेतृत्वको आलोचनालाई जारी राखेका छन् । कांग्रेसभित्र पुस्तान्तरणको आवाज त्यसै दबाउने काम हुने संकेत देखेका उनीहरूले केन्द्रीय समिति वैठकमा सभापतिको आलोचना गर्न छाडेका छैनन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह यहि पंक्तिको नेताका रूपमा उदाउने तयारीमा छन् ।

त्यसैअनुसार नै उनले ९ बुँदे सुझावमा सभापति देउवालाई अराजक, अहिलेसम्मकै तानाशाही प्रवित्तिको नेता भएको चित्रित गरेका छन् । तर, सभापति सर्वशक्तिमान हुने कांग्रेसको युवाको सांगठनिक र संरचनागत विद्रोहको सम्बोधनमा अन्य नेताले साथ नदिने संकेत देखिएको छ ।

रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, महामन्त्री शशांक कोइरालालगायतले पुस्ता हस्तान्तरण भन्दा पनि वरियताको विवादलाई बहस बनाएका छन् । ‘युवाको नेतृत्वका विषयमा लविङ गर्ने नेताहरूले बोल्न पाएपनि उनीहरूको आवाजको सुनुवाई हुने अवस्था छैन । नेतृत्व र गुट हावी नहुँदा फरक मतमा नेताहरू उभिएपनि पुस्ता हस्तान्तरण विषयमा उनीहरूको समान धारणा देखिन्छ । नयाँ नेतृत्वको चाहना अभिव्यक्त छैन’, एक युवा नेताले भने,‘यस विषयमा केन्द्रीय समितिमा कुरा उठाउने प्रयास भइरहेको छ ।’

त्यसो त केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पदाधिकारीपछिको वरीयताक्रमअनुसार गोपालमान श्रेष्ठलाई पहिलो नम्बरमा राख्न प्रस्ताव गरेपछि नेताहरू डा. रामशरण महत, बलबहादुर केसी लगायतका नेताहरूले आक्रोश व्यक्त गरेका थिए । यो आक्रोशमाथि नै बहस मोडिएको छ ।

‘एकजनाको वरियता होइन, सवैको भुमिकाबारेमा कुरा उठाइएको छ । संगठनको संरचना र प्रवित्ति पनि बदलिनुपर्छ भन्ने सोचको विकास हुनुपर्छ । आफ्नालाई काखी च्याप्ने र अन्यलाई पाखा लगाउने प्रवित्ति सह्य हुँदैन ।’, पूर्वमहामन्त्री सिंहले भने,‘युवाको प्रोत्साहनका निम्ति पनि संगठन र नेता फराकिलो छाती लिएर अघि बढ्नुपर्छ भन्ने मान्यता स्थापित होस् ।

यहाँसम्मकी कांग्रेसको पृष्ठभुमीदेखि नै संश्लेषण गरी अबको राजनीतिका विषयमा बहस गर्नुपर्ने धेरैले आवाज उठाएका छन् । कांग्रेस सदस्य नविन्द्रराज जोशीले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चिसिएको सम्बन्धले पार्टीको हित नहुने बताएका छन् । कांग्रेसलाई सुदृढ गर्नका लागि सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको सम्बन्ध हार्दिकताको हुनुपर्नेमा जोड दिएका छन् ।

यीबाहेक युवाका विषयमा भने कांग्रेसले खास चासो देखाएको छैन । जुत्तामा पोलिस लगाएर संगठनका विषयमा बहस गर्ने नेताहरूका आवाजले अहिलेसम्म स्थान पाएको छैन । बरू, संगठनका विषयमा भन्दा पनि कांग्रेसको बहस आलोचना र बाह्या राजनीतिक आधारमा केन्द्रित हुन थालेका छ ।