
काठमाडौँ, ९ चैत । बुद्ध एयरले आउँदो बैशाख १ गतेदेखि काठमाडौँ–सुर्खेत–काठमाडौँ हवाई सेवा संचालन गर्ने भएको छ । देशको बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्रीय राजधानी काठमाडौंसँग जोड्न बुद्ध एयरले फेरि हवाई सेवा संचालन गर्न लागेको हो ।
यसअघि बुद्धले २०६९ पुष देखि २०७० आषाढसम्म काठमाडौंबाट सुर्खेतको दैनिक उडान सञ्चालन गरेको थियो । तर, पर्याप्त यात्रु नहुँदा आर्थिक भार गरेको भन्दै बुद्धले सुर्खेत उडान रोकेको थियो । अब बैशाख १ गतेदेखि १८ सिट क्षमताको Beech 1900D जहाजबाट काठमाडौं–सुर्खेत–काठमाडौंको दैनिक एक उडान भर्ने बुद्ध एयरले जनाएको छ ।
नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम एकतर्फी भाडा दर ११ हजार ४१९ रुपैयाँ भएता पनि आधा सिट रु. ८ हजार ५०० सय र बाँकी आधा सिट १० हजार ५०० मा बेच्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
कर्णाली प्रदेशमा पर्यटनका थुप्रै अवसर र गन्तव्यहरु छन् । यसबाट स्थानीय जनता तथा प्रदेश सरकार लाभान्वित हुने कम्पनीले जनाएको छ । बुद्ध एयरको यस प्रयासले पर्यटन लगायत अन्य क्षेत्रहरुमा पनि आर्थिक वृद्धि तथा समुचित प्रदेशकै समृद्धिमा टेवा पुग्ने विश्वास लिएको छ ।















प्रतिक्रिया