
काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीसँग आज छलफल शुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहलदरबारमा जारी छलफलमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, न्यायाधिवक्ता, संघीय मन्त्रालयका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।
प्रदेश सरकारका प्रतिनिधिहरुले सरकार सञ्चालनका लागि असुविधा झेलिरहेको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले छलफलका लागि काठमाडौँ डाकेका हुन् । प्रधानमन्त्रीले उनीहरुसँग सामूहिकरुपमा छलफल गरी प्रदेश सञ्चालनमा उत्पन्न समस्या, पूर्वाधार विकासको अवस्थालगायत विषयमा जानकारी लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेश सरकारले बनाउनुपर्ने कानूनबारेसमेत छलफल हुने बताइएको छ ।
प्रदेशसभा र त्यहाँको सरकार सञ्चालनमा कर्मचारी अभावसमेत उत्तिकै देखिएको छ । खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल हुने स्रोतले जनाएको छ । सातै प्रदेशमा प्रदेश सरकार गठन भइसके पनि स्रोत साधन र ऐन कानूनको अभाव देखिएको छ ।















प्रतिक्रिया