
काठमाडौँ, ६ चैत । अघिल्लो पटक उर्जामन्त्री हुँदा लोकप्रिय काम गरेका गोकर्ण विष्ट अहिले श्रम तथा रोजगार मन्त्री छन् । दोस्रो पटक मन्त्री भएका विष्टको पहिलो इनिङ नै जनताका लागि सुखद बनेको छ । अब तराईवासबीले श्रम स्वीकृति लिन काठमाडौँ आउनूपनै पर्ने बाध्यता टर्ने भएको । श्रम तथा रोजगार मन्त्रालयले बुटवल, जनकपुर र इटहरीमा वैदेशिक रोजगारीको श्रम स्वीकृति लिने कार्यालय खोल्ने निर्णय गरेको छ ।
श्रम तथा रोजगार मन्त्रीमा नियुक्त भए लगत्तै बिष्टले तराईमा पनि श्रम स्वीकृति दिने गरी कार्यालय खोल्ने बताएका थिए । बढी कामदार विदेश जाने क्षेत्रमै कार्यालय खोल्न लागेको बताउँदै मन्त्री विष्टले पूर्वमा इटहरी, दुई नम्बर प्रदेशमा जनकपुर र पश्चिमको बुटवलमा कार्यालय खोलेर श्रम स्वीकृति दिन केही समयभित्रै सुरु गर्ने बताए ।
अहिलेको कानुनी व्यवस्थाअनुसार कुन कुन प्रकारको श्रम स्वीकृति दिन मिल्छ, त्यसैअनुसार सेवा दिने मन्त्री विष्टले बताए । रि–इन्ट्रिको लागि यो व्यवस्था तत्काल लागू हुनेछ । संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिको विषयबारे पनि छिट्टै टुंगो लाग्ने बिष्टको भनाइ छ ।
अहिले काठमाडौंको ताहचलस्थित कार्यालयबाट मात्रै श्रम स्वीकति दिने गरिएको छ । दैनिक १५ सयले विभागबाट विदेश जाने स्वीकृति पाउँछन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले जनकपुरमा विभागको कार्यालय खोल्ने निर्णय गरेका थिए । तर, कर्मचारीले अनेक समस्या देखाएपछि कार्यान्वयन भने भएको थिएन । कामदार काठमाडौं नै आउँदा उनीहरुबाट अनुचित लाभ लिइरहेका विभागका कर्मचारीले ‘कमाइको बाटो’ काठमाडौं बाहिर जान दिएका थिएनन् ।
तत्कालिन प्रधानमन्त्रीले गर्न नसकेको काम गर्ने आँट गरेका मन्त्री विष्टले आधा मात्रै कामदारले बाहरिबाटै स्वीकृति पाए भने ताहचलमा केही सुधार हुने र कामदारको सास्ती पनि कम हुने विश्वास व्यक्त गरे ।















प्रतिक्रिया