
काठमाडौं । चर्चित गीत सरर मलेवाकी गायिका कमला श्रेष्ठको ६९ वर्षको उमेरमा सोमबार गंगालाल अस्पताल काठमाडौंमा निधन भएको छ । मुटुको रोगबाट ग्रस्त उनको उपचारकै क्रममा निधन भएको साहित्यकार प्रकाश सायमीले जानकारी दिए ।
२००५ साल कात्तिक ९ गते काठमाडौंको असनमा पिता रामबहादुर र आमा इन्द्रमायाको सन्तानको रुपमा जन्मिएकी कमला २०२४ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा नौ गेडीको माला मेरो बोलको गीत गाएर गायनमा प्रथम भएकी थिइन् । यादव खरेलको शब्द तथा नातिकाजीको संगीत रहेको यो गीत पछि तारादेवीले गाएकी हुन् ।
२०२५ सालदेखि रेडियो नेपालमा गायिकाका रुपमा काम गरेकी कमला श्रेष्ठले दुई सय भन्दा धेरै गीत गाएकी छन् । पछिल्लो समय स्वास्थ्यका कारण सक्रिय नरहेकी गायिका कमलाले नारायणगोपालसँग मुनामदनमा दिदीको भागमा पर्ने अंश गाएकी छन् ।
यसैगरी उनका सरर मलेवा गुम्छ बालद मुनि मायालाई, सहिदिन्छु कुट बरु बोलीले न कुट, मेरा सबै उमेरहरु हजुरलाई, कति खोलासहितका गीत चर्चित छन् । लोक शैलीका गीतमा चर्चित बनेकी उनले माया प्रितीसहितका चलचित्रमा पनि गीत गाएकी छन् ।















प्रतिक्रिया