३ कार्तिक २०८३, मंगलबार

क्रान्ति सकिएको छैन, अझै अगाडि बढ्छ : अध्यक्ष प्रचण्ड

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति अझै नसकिएकाले नयाँ रुप र आधारमा निरन्तर क्रान्ति अगाडि बढ्ने बताउनुभएको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासंघले यहाँ सोमबार आयोजना गरेको ‘सांस्कृतिक प्रतिरोध दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०७४’ लाई सम्बोधन गर्दै उहाँले अबको क्रान्तिको आधार समृद्धि र विकास हुने भएकाले सोही दिशामा अग्रसर हुन कलाकर्मीलाई आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनले विश्वव्यापी उतारचढावका कारण आफ्ना रणनीतिमा उतारचढाव गरे पनि उद्देश्य र लक्ष्यलाई परिवर्तन नगर्ने र आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ्ने बताउँदै आर्थिक समृद्धि र विकासको कुरा गर्दा सांस्कृतिक क्रान्ति र गतिविधिलाई पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले समाजवाद, समृद्धि र स्थायित्वको कुरा गर्दा सांस्कृतिक क्रान्तिलाई जीवन्त राख्न नसकिए विचलन आउने खतरा छ, ठूलो बलिदान र संघर्षमा सहभागी भएको पिँढी रहँदासम्म त सांस्कृतिक विचलन नआउँला, त्यसपछि के होला भन्ने अन्योल छ, त्यो अन्योललाई राजनीतिककर्मी र सांस्कृतिकको क्षेत्रमा काम गर्नेले चिर्नु जरुरी छ ।”

सांस्कृतिक क्रान्तिमा जनसांस्कृतिक महासंघको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन पनि सांस्कृतिक आन्दोलन जरुरी रहेको बताउनुभयो । अध्यक्ष दाहालले ‘सांस्कृतिक प्रतिरोध दिवस’ लाई जनयुद्ध, जनआन्दोलनलगायतमा सहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जलि र घाइते अपांग भएका योद्धाप्रति सम्मान गर्ने विशेष दिनका रुपमा आफूले लिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “शहीदप्रति सम्मान अर्पण गर्दै नयाँ संकल्प गर्ने विशेष दिनमध्ये सांस्कृतिक प्रतिरोध दिवस पनि एक हो, यस दिनमा मुलुकलाई एकताबद्ध गर्दै समाजवादी क्रान्तिको आधार निर्माणको महान् अभियानमा समर्पित हुने संकल्प हामी सबैले गरौँ ।” राजनीतिकरुपमा प्राप्त अधिकारलाई गौरवमय उपलब्धिका रुपमा लिँदै समाजवादी क्रान्तिको अभियानमा लाग्नसमेत उहाँले सांस्कृतिक क्षेत्रलाई आग्रह गर्नुभयो ।

विसं २०५५ चैत ५ गते तत्कालीन नेकपा(माओवादी)का सांस्कृतिक टोलीलाई काभ्रेपलाञ्चोक जिल्लाको अनेकोटमा हत्या गरेको स्मरणमा महासंघले हरेक वर्ष सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ । सो घटनामा माओवादीका सांस्कृतिकर्मी च्याङबा लामा, गुम्बासिंह लामा, चिनीमाया तामाङ, डम्बर श्रेष्ठ, सावित्री चौलागाईं, सुभद्रा सापकोटा र मञ्जु कुँवर काभ्रेको अनेकोटको एक घरमा बसिरहेका बेला मारिएका थिए । कार्यक्रममा लोकप्रिय जनगायक जीवन शर्मा, व्यङ्ग्यकार विमल निभा र कलाकार सीता आचार्यलाई अध्यक्ष दाहालले सम्मान गर्नुभयो । –रासस