३ कार्तिक २०८३, मंगलबार

त्यसै सक्रिय भएका हैनन् ज्ञानेन्द्र शाह, यस्ता छन् कुटनीतिक र राजनीतिक दाउ

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । पछिल्ला केही महिनाको अन्तरालमा पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिक र कुटनीतिक भ्रमणले सक्रियता पाएका छन् । गत साता झापा पुगेका ज्ञानेन्द्रले राजनीतिक भेट गरेका छन् । उनले राप्रपाका नेताहरूसँग भेटे ।

ज्ञानेन्द्रको लगानी नै रहेको दमकको हिमालयन टि गार्डेनमा राप्रपाका ट उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्यद्वय भाष्कर भद्रा र प्रल्हाद शाहसँग उनको परामर्श भयो । राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजाराम श्रेष्ठ र केन्द्रीय सदस्यद्वय सगुन लावती र सुरेश आचार्यसँग राजतन्त्रका लागि नयाँ राजनीतिक आन्दोलनको एजेन्डामाथि उनको छलफल भएको बताइएको छ । भारतको धार्मिक भ्रमण सकेर आएपछि उनले राजनीतिक कसरत बलियो बनाएका छन् । यस्ता संकेत भारतभ्रमण पूर्व ज्ञानेन्द्रले गरेकै थिए ।

झापा बसाईका क्रममा एकिकृत राप्रपा (राष्ट्रवादी) का डा सुष्मा आचार्य, केशव श्रेष्ठ र ताराप्रसाद लुइँटेलसँग पनि उनको परामर्श भयो । विभाजित राप्रपाका रूष्ट नेतालाई साथमा लिएर राजतन्त्रका लागि नयाँ राजनीतिक पृष्ठभुमीको आन्दोलनको तयारीमा राजावादी जुटेको स्रोतको दाबी छ ।

देशमा संघीय प्रणाली कार्यान्वयनको प्रक्रियामा ओली सरकार अग्रसर भएका बेला ज्ञानेन्द्रले इतिहासलाई नामेट गर्न नसकिने बताइसकेका छन् । उनमा यो प्रक्रिया नै असफल हुने आत्मविश्वास पनि पाएको उच्च स्रोतले जनायो ।

त्यसो त ज्ञानेन्द्रलाई यो मनोबल नै भारतमा गरिएका विभिन्न गोप्य तथा उच्च राजनीतिक भेटले जुराएको बताइन्छ ।

उनी एउटा धार्मिक अनुष्ठानको मुख्य अतिथिका रूपमा गएको महिना भारत पुग्नुअघि नै केही आशावादी पनि देखिन्थे । त्यसबेला त्रिभुवन विमानस्थलमा भनेका थिए,‘पात फेरिरहन्छ जरा अटल रहन्छ ।’

यसपछि उनले भारतको उडिसा राज्यका मुख्यमन्त्री नविन पटनायकसँग भेट गरे । उनीसँग राजनीतिक र धार्मिक शाख जोगाउनका लागि नेपालमा राजतन्त्रको अपरिहार्यता रहेको परामर्श गरेका थिए । पटनायक भारतीय जनता पार्टी गठबन्धनको विजु जनता दलबाट निर्वाचित थिए ।

हिन्दुवादी शक्ति भारतीय जनता पार्टीको सत्तारोहणपछि त्यहाँका राजनीतिज्ञ र नेतासँगको भेटघाटलाई बाक्लो बनाएका ज्ञानेन्द्रले गत पुसमा भारतको लखनऊमा पुगी मध्यप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेका थिए ।

मुख्यमन्त्रीको कार्यालय लखनऊमा ज्ञानेन्द्रलाई स्वागत गर्दै आदित्यनाथले सम्बोधनमा ‘राजा’ नै भनेपछि उनी झन हौसिएका थिए । आदित्यनाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र मात्र होइन, रणनीतिक सल्लाहकारका रूपमा पनि चिनिने गरेका छन् । मुख्यमन्त्री निर्वाचित हुनुपूर्व आदित्यनाथ र ज्ञानेन्द्रको भेट काठमाडौंमा भएको थियो । विराट हिन्दु सम्मेलनका अवसरमा आदित्यनाथले निर्मल निवासमा पुगेर ज्ञानेन्द्रसँग लामो छलफल गरेका थिए ।

यसो त भारतीय मुख्यमन्त्री, मिडियाले मात्र होइन नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले पनि आफ्नो सम्बोधन र विज्ञप्तिहरूमा ज्ञानेन्द्रलाई पूर्वराजा नभनी राजाको रूपमा सम्बोधन गर्दै आएका छन् । ‘अर्को राजा नभएसम्म राजा नै हुन् भनेर सम्बोधन गर्छन्, मचाँहि विज्ञप्तिमा पनि पूर्वराजा भन्न बाध्य छु’, ज्ञानेन्द्र सचिवालयका प्रेस हेर्ने डा. फणिराज पाठक भन्छन्,‘उनीहरूको त्यो सम्बोधन र उच्च सम्मानलाई नेपालमा नजरअन्दाज भइरहेको छ । यसलाई गहन हिसावले बुझ्न आवश्यक नै होला ।’

०७३ र ०७४ सालको नयाँ वर्षका अवसर पारी ज्ञानेन्द्रले जारी गरेका विज्ञप्तिमा राजनीतिक टिप्पणीसहितको शुभकामना थियो । उनले ति विज्ञप्तिहरूमा देशभक्तहरूलाई समेटेर अघि बढ्नुपर्नेमात्र बताएका थिएनन् राजनीतिक दलको शाशकीय शैलीले मुलुक अघि बढ्न नसक्ने प्रष्ट सन्देश थियो । त्यसैको कसरतस्वरूप देशका विभिन्न भागमा उनले पूर्वराजावादीलाई भेला पारेर सम्बोधनयात्रा थालिसकेका छन् । यस्तो राजनीतिक परामर्श उनले पूर्वी नेपालको झापाबाटै थालेका हुन् ।

‘राजाको राजनीतिक भेट चलिरहन्छ । समर्थकलाई नभेटी हिँड्ने कुरा पनि भएन । समर्थक कुनै न कुनै राजनीतिक आस्था भएका हुन्छन् । राजाको कुनै राजनीतिक दल छैन ।’, ज्ञानेन्द्रनिकट स्रोतले भन्यो,‘कांग्रेस, एमाले र माओवादीका राजा समर्थकको पनि सहभागिता रहेको छ ।’

संविधान कार्यान्वयनको चरणमा संघीय चुनावपछि नयाँ सरकार बनिसकेको छ । यस्तो बेलामा पूर्वराजाको राजनीतिक भेट अर्थपूर्ण रहेको मानिन्छ । ‘संघीयता कार्यान्वयन भयो, प्रदेश सरकार आए भनेर जसरी व्याख्या भइरहेको छ । विदेशी, छिमेकी राष्ट्रको सम्बोधन र विश्व राजनीतिको इतिहासको मुल्यांकन गर्दा कति परिवर्तन कसरी भए भन्ने उदाहरण प्रशस्त छन् ।’, डा. पाठक भन्छन्,‘मैले यो कुरा गर्दा पूर्वाग्रही भएर बोल्यो भन्छन् । तर, आवश्यक प्रणाली कस्तो हुनुपर्ने राजनीति कुन गतिमा कता वगिरहेको छ भन्ने छर्लङ्ग देखिएकै छ ।’

धार्मिक अनुष्ठान र नेपालको संविधानको कार्यान्वयन दुवैलाई हानी नहुनेगरी ज्ञानेन्द्र सांस्कृतिक राजाका रूपमा प्रतिस्थापित हुने प्रयत्नमा छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन समयमा सांस्कृतिक राजा राख्न सकिने अभिव्यक्ति दिनु, स्व. गिरिजाप्रसाद कोइरालाले बेबी किङको प्रसङ्ग कोट्याउनु र विभिन्न टेलिभिजनमा दलहरूसँग फरक प्रकारको ७ बुँदे सम्झौता भएको दाबी गर्दै ज्ञानेन्द्रको अन्तरवार्ता आउनु संयोगमात्र नभएको राजनीतिक टिप्पणीकारहरूको बुझाई छ । १३ चैत २०६६ मा ज्ञानेन्द्र पहिलो पटक एउटा टेलिभिजन अन्तरवार्तामा भनेका थिए,‘राजतन्त्रको अन्त्य भन्नु काल्पनिक कुरामात्र हो । राजतन्त्रको अन्त्य भएको छैन ।’

गणतन्त्र घोषणा भएको दुई वर्षपछि ज्ञानेन्द्रले त्यो अन्तरवार्तामा भनेका थिए,‘नेपाली राजतन्त्रको इतिहास सक्रिय र संवैधानिक लगायतका आरोहअवरोहबाट गुज्रिएकाले वर्तमान अवस्था पनि राजतन्त्रको इतिहासमा एक अवरोह मात्र हो अन्त्य होइन ।’ १५ जेठ, ०६४ को संविधानसभाको पहिलो वैठकले देशलाई गणतन्त्र नेपाल भन्दै राजतन्त्र समाप्तको घोषणा गरेको थियो ।