१ कार्तिक २०८३, आइतबार

कर्णालीमा शुरु गरियो र्‍याफ्टीङ व्यवसाय

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, ४ चैत । हिमाली जिल्ला हुम्लाको कर्णाली नदीमा साहसिक तथा चुनौतीपुर्ण मानिने साहसिक जलयात्रा र्‍याफ्टीङ व्यवसायिक रुपमा संचालनमा आएको छ । जिल्लामा पहिलो पटक व्यवसायिक रुपमा शुरु गरिएको र्‍याफ्टीङले आन्तरिक पर्यटकको मन लोभ्याएको छ ।

मनोरञ्जनका लागि गरिने जलयात्रा र्‍याफ्टीङ आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षीत गरि संचालन गरिएको व्यवसायी बताउँछन् । हुम्लाको प्रशिद्ध तीर्थ स्थल खार्पुनाथ हुदै बग्ने कर्णाली नदीको खार्पुदोभानबाट याङ्चुकुनासम्म र्‍याफ्टीङमार्फत साहसीक यात्रा गर्न सकिने भएको छ ।

कर्नाली र्‍याफ्टीङ तथा एड्भेन्चर प्रालि कैलालीसँगको सहकार्यमा हुम्ला र्‍याफ्टीङ तथा साहसिक जलयात्राले हुम्लामा र्‍याफ्टीङलाई मनोरञ्जनका साथै व्यवसायिक रुपमा अगाडी बढाएको छ । ओझेलमा परेको हुम्लाको धार्मिक स्थल खार्पुनाथलाई पर्यटकीय दृष्टिकोणबाट अगाडी बढाउन तथा आन्तरिक तथा वाह्य पर्यटकलाई जिल्लामा भित्र्याउने लक्ष्यका साथ र्‍याफ्टीङ व्यवसाय शुरु गरिएको व्यवसायी बताउँछन् ।

खार्पुदोभानदेखि याङ्चुकुनासम्म कर्णाली नदीमा चार किलोमिटरको र्‍याफ्टीङ यात्रा गर्न सकिनेछ । दुरी अनुसार नेपालीलाई २ सय पचास देखि दुई हजार र बिदेशी नागरिकलाई प्रतिव्यक्ति दुई हजार देखि पाँचहजार तोकिएको छ । हुम्लामा पहिलो पटक शुरु भएको साहसिक जलयात्रा र्‍याफ्टीङ संचालनका लागि एउटा र्‍याफ्टीङ डुंगाबाट शुरु गरिएको र पछि आवश्यकता अनुसार बिस्तार गर्दै जाने व्यवसायी बुद्धिराम बुढाले बताए । साहसिक जलयात्रा र्‍याफ्टीङ गर्नेहरुको सुरक्षाका लागि दुईजना गाईडले सहयोगीको भुमिका निभाउने प्रवन्ध समेत मिलाईएको छ ।

नीजि लगानीमा शुरु गरिएको यो व्यवसायले कैलाश मानसरोवर दर्शन गर्न आउने भारतीय पर्यटक, तेस्रो मुलुकका पर्यटक र आन्तरिक पर्यटकलाई लक्षित गरेको हुम्ला र्‍याफ्टीङ एसोसियसनका अध्यक्ष बुद्धिराम बुढा बताउँछन । हुम्लाको कर्णाली नदी किनारमा रहेको प्रशिद्ध धार्मिक स्थल खार्पुनाथबाट शुरु गरिने साहसिक जलयात्राले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने बुढाले बताए ।