लण्डन, ४ चैत । टोटनह्याम लगातार दोस्रो सिजन एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
छैटौँ चरण अन्तर्गत शनिबार राति मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब स्वान्सी सिटीलाई ३–० ले हराउँदै माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
टोटनह्यामको जितमा क्रिष्टियन एरिक्सनले दुई तथा एरिक लामेलाले गोल गरे । एरिक्सनले ११ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा लामेलाले गोल गरेपछि टिमको अग्रता दोब्बर भयो । पहिलो हाफमा २–० को अग्रता लिएको टोटनह्यामका लागि एरिक्सनले ६२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर ३–० को जित दिलाए ।
एफए कपमा लगातार नवौँ जित दर्ता गरेको टोटनह्याम उपाधि जित्ने आशको यात्रा कायम राखेको छ । टोटनह्यामले पछिल्लो १० वर्षमा पहिलो उपाधिको खोजी गरिरहेको छ । उसले सन् २००८ मा लिग कपको उपाधि जिते यता कुनै पनि उपाधि जितेको छैन । – एजेन्सी















प्रतिक्रिया