मुम्बई । बलिवुड अभिनेता इरफान खानले आफूलाई दुर्लभ ट्युमर रोग लागेको बताएका छन् ।
दुई हप्ताअघि आफूलाई रोग लागेका बताएका इरफानले शुक्रबार आफूलाई दुर्लभ ट्युमर भएको बताएका हुन् । उनलाई न्युरोएन्डोक्राइन ट्युमर भएको छ ।
उनले ट्वीट गरे ट्युमरका बारेमा जानकारी दिएका हुन् । खानले लेखेका छन्, ‘जीवनमा आउने अनपेक्षित बदलावले अघि बढ्न सिकाउँछ । मलाई अहिले न्युरोएन्डोक्राइन ट्युमर रहेको थाहा भएको छ ।’
उनले आफ्ना फ्यानलाई पिर गर्नुभन्दा पनि आफ्ना लागि स्वास्थ्यको कामना गर्न आग्रह गरेका छन् । ५१ वर्षका खानले १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । बलिवुडमा उनका पिकु, मक्बुल, हाँसिल, पान सिंह तोमरसहितका उत्कृष्ट चलचित्र छन् ।
खानले लाइफ अफ पाइ, सलमडक मिलेनियर्स, द अमेजिङ स्पाइडर–म्यानसहितका हलिवुड चलचित्रमा पनि अभिनय गरेका छन् ।
अन्तर्राष्ट्रियस्तरमा राम्रो परिचय बनाएका भारतीय कलाकार हुन् । उनले बलिवुडसहित स्वतन्त्र हिन्दी चलचित्रमा पनि अभिनय गरेका छन् । उनले सन् २०१३ मा ‘पान सिंह तोमर’मा गरेको उत्कृष्ट अभिनयका लागि राष्ट्रिय चलचित्र अवार्ड जितेका थिए ।
बेलायतको एनएचएसका अनुसार न्युरोएन्डोक्राइन ट्युमर त्यस्तो दुर्लभ प्रकारको ट्युमर हो । यो ट्युमर शरीरका विभिन्न अंगमा फैलिन सक्छ ।
बिरामीको आँकडा हेर्दा यो ट्युमर विशेष गरी आन्द्रामा हुने गरेको पाइएको छ । यसको सबैभन्दा पहिलो असर ब्लड सेल्समा पर्छ । जसबाट ब्लड सेलमा हर्मोन रिलिज हन्छ ।
ट्युमर निकै सुस्त गतिमा बढ्ने गरेको पाइन्छ । तर, सबै अवस्थामा त्यस्तै हुन्छ भन्ने छैन । ट्युमरका कारण अहिलेसम्म पत्ता लागेको छैन ।
आनुवंशिक कारण पनि हुने गरेको पाइन्छ । यसको उपचार भनेको शल्याक्रिया गर्ने र हर्मोन कम रिलिज गराउने खालका औषधि खाने नै हो । – एजेन्सी















प्रतिक्रिया