काठमाडौँ, १ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाक्टर बाबुराम भट्टराईलाई गल्ती सच्याएर पार्टीमा फर्कन आग्रह गरेका छन् ।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टीका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउदै अध्यक्ष प्रचण्डले भट्टराईलाई गल्ती सच्याएर पार्टीमा फर्कन आग्रह गरेका हुन् । उनले भट्टराईलाई पटक–पटक आउन आग्रह गरेको समेत उनले बताए ।
आफ्नो आग्रहलाई नमानेर भट्टराईले धेरै ठूलो गल्ती गरेको प्रचण्डको दाबी छ । फेरि पनि गल्ती सच्याउँदै पार्टीमा नफर्के स्वर्गमा पनि भट्टराईले बास नपाउने उनले टिप्पणी गरे ।
उनले भने, ‘हाम्रो त भनाई बाबुरामजीहरू समेत यहीँ जोडिन आइपुग्नुपर्छ भन्ने हो । नत्र कुनै भविष्य छैन । मैले त उतिबेलै भनेको हो, भनेको भनेई छु, बाबुराम जीलाई, गल्ती गर्नुभएको छ तपाईले । ब्लन्डर गर्नुभएको छ । धेरै ठूलो भूल गर्नुभएको छ । यसको पश्चाताप गरेर फर्कनुपर्ने हुन्छ उहाँले । अनि मात्रै उहाँलाई माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ । नत्र पोलेको पोल्यै हुन्छ उहाँलाई । दुख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ हाम्लाई ।’
अध्यक्ष दाहालले विगतमा माओवादी, कम्युनिष्ट आन्दोलन र क्रान्तिका लागि काम गरेकाहरू एउटै केन्द्रमा आउनुको विकल्प नभएको उल्लेख गर्दै फुटेर गएको विप्लव समूहलाई पनि पार्टीमा फर्कन आह्वान गरे । जनताको आर्थिक विकास र सम्वृद्धिको चाहना सम्बोधन गर्नका लागि बलियो केन्द्र आवश्यक रहेकाले वाम गठबन्धनको पक्षमा आफू उभिएको उल्लेख गर्दै उनले पार्टी एकतापछि मुलुकमा विकास र सम्वृद्धिको अभियान चाल्न सजिलो हुने बताए ।
गोर्खामा नयाँ शक्ति पार्टीका तर्फबाट विभिन्न भूमिकामा रहेर काम गर्दै आएका कार्यकर्ता पार्टी प्रवेश हुनुलाई पुनर्मिलनको संज्ञा दिँदै अध्यक्ष दाहालले यसपछि गोर्खा फेरि पनि कम्युनिष्ट किल्लाकै रूपमा कायम रहने विश्वास व्यक्त गरे ।















प्रतिक्रिया