शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

मेरो कुनै संलग्नता छैनः निर्देशक शिव बिक

दैनिक नेपाल २०७४ फागुन २९ गते १८:३३

शिव बिक, निर्देशक, म्युजिक भिडियो

काठमाडौं, २९ फागुन । म्युजिक भिडियोका निर्देशक शिव बिकले घरभाडा नतिरेको विषयमा आफ्नो नाम जोडिएर आएको समाचारप्रति आपत्ति जनाएका छन् ।

अनामनगरस्थित घट्टेकुलो चोकमा स्थानीय नारायणी उप्रेतीको घरमा कार्यालय राखेको छ महिनाको घरभाडा नतिरेको सम्बन्धमा दैनिक नेपाल डटकमले मंगलबार बिहान समाचार सम्प्रेषण गरेको थियो । सो समाचार एकतर्फी भएको भन्दै निर्देशक बिकले आपत्ति जनाएका हुन् ।

निर्देशक बिकले नारायणी उप्रेतीको घरमा आफूले कार्यालय राखेको स्वीकार गरे । ‘उहाँको घरमा मैले कार्यालय राखेको हुँ । तर, त्यो फल्याट मैले होइन अशोक बिकले लिएको हो । अशोक बिकसँग मैले भाडामा लिएर कार्यालय राखेको थिएँ’, निर्देशक बिकले भने, ‘मैले फल्याट छाड्दा सबै पैसा मिलाएर निस्केको हुँ । मेरो होइन, अशोक बिकको त्यसमा सम्बन्ध छ ।’

घरभाडाका सम्बन्धमा घरधनीले वडा कार्यालयमा दिएको उजुरी पछि छलफल गर्न तपाई जानु भएको थियो कि थिएन भन्ने प्रश्नको जिज्ञासामा निर्देशक बिकले भने, ‘हो म गएको हुँ । तर, सबै कुरा मिलाएर आएको थिएँ । घरधनीलाई अशोक बिकसँग भेट गराएर कुरा मिलेको छ ।’

‘तपाईहरूले मसँग एक पटक पनि कुरा नगरेर समाचार सम्प्रेषण गर्दा मेरो मानमर्दन भएको छ’, निर्देशक बिकले भने, ‘समाचारमा भने जस्तो म फरार छैन ।’

यसैबीच, समाचार प्रकाशित भएपछि म्युजिक भिडियोका निर्देशक अशोक बिकले मंगलबार घरधनीलाई सम्पर्क गरेर छ महिनाको भाडा तिर्न नसक्ने जवाफ दिएका छन् । उनले दुई महिनाको मात्रै भाडा दिने जवाफ घरधनीलाई दिएका हुन् ।

‘अशोक बिकले छ महिनाको भाडा तिर्दैन । दुई महिनाको मात्रै तिर्छु भन्नुभएको छ । पैसा छैन भने बरु पाँच महिनाको भाडा दिनुस् । एक महिनाको भाडा मिनाह गरिदिन्छौँ भनेका छौँ’, घरधनी उप्रेतीले भनिन्, ‘फल्याटमा अहिले पनि उनीहरूको ताला लागेको छ । वडा कार्यालयबाट कुरा मिलेन । भाडा देलान् जस्तो छैन । प्रहरीमा बुधबार लिखित उजुरी दिन्छु ।’

म्युजिक भिडियो निर्देशकद्वय शिव–अशोक भाडा नतिरेर ‘फरार’

प्रतिक्रिया
सम्बन्धित