आइतबार, २३ मंसिर २०७५
DainikNepal.com
आइतबार, २३ मंसिर २०७५

एनआइसी एशियाको १२ प्रतिशत ब्याज शुक्रबारसम्म (विज्ञप्तिसहित)

दैनिक नेपाल २०७४ फागुन २९ गते १२:५६


काठमाडौँ, २९ फागुन । नेपाल बैंकर्स संघसँग सहमति गरेपछि एनआइसी एशिया बैंकले अधिकतम ब्याज दिने योजना स्थगित गर्ने जनाएको छ । बैंकले १० प्रतिशत ब्याज दिने समुन्नती प्लस बचत खाता र १२ प्रतिशत ब्याज दिने एक वर्षे धनवर्षा मुद्दती खाता बन्द हुने जनाएको हो । बैंकका अनुसार यी दुई योजना अन्तर्गत आउँदो शुक्रबार (चैत २ गते) सम्म मात्र खाता खोल्न सकिने जनाएको छ ।

योजना राम्रो भएपनि अर्थतन्त्रको हितका लागि बन्द गरेको बैंकले जनाएको छ । योजनाले आमजनतामा अत्यन्त लोकप्रियता हासिल गरेको उसको भनाई छ । नेपाल बैंकर्स संघ र आफूबीच ब्याजदर सम्बन्धी विविध विषयमा देखिएको असमझदारीले समग्र अर्थतन्त्रको सर्वाङिगण हित हुने गरी हल गरेर जानुपर्छ भनेर योजना बन्द गरिएको बैंकले जनाएको छ ।

संघ र एनआइसी एशिया बैंकबीचको विवादले बैंकिङ प्रणालीमै जोखिममा पर्ने देखिएपछि राष्ट्र बैंकले सोमबार बालुवाटारमा दुबै पक्षलाई बोलाएको थियो । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानासहित संघका पदाधिकारी र एनआइसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन शर्मा न्यौपानेसहितको टोली र राष्ट्र बैंकको नियमन विभागका प्रतिनिधीबीच भएको लामो छलफलपछि एनआइसी एशिया बैंकले ब्याजदरमा पुनरावलोकन गर्न तयार भएको हो ।

बचतको ब्याज १० प्रतिशत पुर्‍याउँदै मुद्दतिमा १२ प्रतिशत ब्याज दिने सुचना सार्वजनिक गरेपछि संघले एनआइसी एशिया बैंकसँग २७ वटा वाणिज्य बैंकले अन्तर बैंक कारोबार र विदेशी विनिमयको कारोबार नगर्ने निर्णय गरेको थियो । यो विवाद अब सल्टिएको छ ।

हेर्नुहोस् एनआइसी एशिया बैंकको विज्ञप्ती
आम सर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस एनआईसी एशिया बैंकले विभिन्न ग्राहकमुखी योजनाहरू पस्केर ग्राहक महानुभावहरुलाई लाभान्वित तुल्याइरहेको विषय सर्वविदितै छ ।

साथै, बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८३ शाखा सहित निजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८५ एटिएम सहित मुलुककै सबैभन्दा वढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७५ भन्दा बढि भौतिक सञ्जालमार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ । साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगी यस बैंक हाल ग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भैसकेको छ ।

त्यसैगरी वित्तीय परिसुचकांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भैसकेको छ । बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आइरहेको छ ।

छोटो समयमै बैंकलाई यस उचाईमा पुर्‍याउन अमूल्य योगदान पुर्‍याउनुहुने आम सर्वसाधारण, सेयरधनीहरु, सम्पूर्ण आदरणीय सेवाग्राहीहरु, शुभचिन्तकहरु एवं आम सञ्चार जगतमा वहाँहरु सबैले पुर्‍याउनु भएको सहयोगको लागि यस बैंक हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छ ।

‘बैंक पनि साथीपनि’ भन्ने नाराका साथअघि बढेको यस बैंकले मिति २०७४/११/११ देखि ‘धनवर्षा मुद्दती खाता’ (वार्षिक ब्याजदर १२%) र ‘समुन्नति प्लस बचत खाता’ (वार्षिक ब्याजदर १०%) योजना सञ्चालनमा ल्याएकोमा उक्त योजनाहरुले आम जनमानसमा अत्यन्त लोकप्रियता हासिल गरेको भएता पनि विगत केहि दिनयता नेपाल बैंकर्स संघ र यस बैंक विचब्याजदर सम्बन्धी विविध विषयहरुमा देखिएको असमझदारीलाई समग्र अर्थतन्त्रको सर्वाङ्गिण हितहुने गरी हल गरेर जानुपर्छ भन्ने आमधारणा रहेको महसुस गर्दै सो को लागि सार्थक प्रयास गरी जनउत्तरदायी एवं जिम्मेवार संस्थाको हैसियतले विभिन्न मतान्तरकाबीच वर्तमानको असहज परिस्थिती र आवश्यकता समेतलाई मध्यनजर गर्दै यस बैंकले निम्नबमोजिम गर्ने निर्णय गरेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सविनय अनुरोध गर्दछौं :

बैंकले मिति २०७४ फाल्गुन ११ देखि संचालनमा ल्याएको समुन्नती प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १ बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) अन्तर्गत यही २०७४ चैत्र २ गते शुक्रबार सम्म मात्र नयाँ खाता खोल्न सकिने छ । तत्पश्चात उपरोक्त उल्लेखित दुवै योजनाहरु बन्द गरिने छ ।

हालै सृजित असहज परिस्थितीले गर्दा उपरोक्त उल्लेखित दुवै योजनाहरुलाई ग्राहक महानुभावहरुको प्रचुर लोकप्रियताको बाबजुद पूर्वनिर्धारित योजना बमोजिम निरन्तरता दिन असमर्थ भएकोमा सो बाट आम ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाका लागि बैंक क्षमाप्रार्थी छ ।

अन्त्यमा, अनेक आरोह अवरोहका बाबजुद हाम्रा लाखौं ग्राहक महानुभावहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरी वहाँहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंक पनि साथीपनि बन्ने हाम्रो महाअभियानमा हामी सदा प्रतिवद्ध छौं र रहिरहनेछौ ।

सुधिर नाथ पाण्डे
सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी)
२९ फाल्गुण, २०७४

प्रतिक्रिया
सम्बन्धित