काठमाडौँ, २८ फागुन । जिम्बावेमा जारी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपालले हङकङविरुद्ध पाँच विकेटको जित हासिल गरेको छ । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । हङकङले दिएको १ सय ५४ रनको विजयी लक्ष्य नेपालले ४० दशमलव ४ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४८ रन बनाए । त्यस्तै, सोमपालले ३७, अनिल कुमार शाहले २६, ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले १२/१२ तथा कप्तान पारस खड्काले ११ रन जोडे । हङकङका अइजाज खान र एहसान खानले समान २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८ दशमलव २ ओभरमा अलआउट हुँदै १५३ रन बनाएको थियो । हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४७ रन बनाए । यस्तै, एहसान खानले २५, कप्तान बाबर हायतले २०, एहसान नवाजले १३ तथा तनविर अफजलले १० रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले २÷२ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए ।















प्रतिक्रिया