१ कार्तिक २०८३, आइतबार

भेजफेस्टमा शाकाहारी मासु !

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ फागुन । काठमाडौंको नेपाल पुलिस क्लबमा आयोजित एशिया प्रशान्त क्षेत्रीय शाकाहारी सम्मेलन तथा फेजफेस्टमा अवलोकनकर्ताहरूले ‘शाकाहारी मासु’ मात्रै होइन, भटमासको दूधदहीसमेत चाख्न पाए ।

भेज स्टलमा बसेर सागपात र गेडागुडीबाट बनेको, हेर्दा र खाँदा मासुजस्तै देखिने ‘मिट चिल्ली’ खाँदै गरेका मणि भण्डारीले भने, ‘एकदमै उस्तै, ठ्याक्कै खसीको मासु बिर्साउने ।’ सोही परिकार चाखिरहेकी उनकी शाकाहारी पत्नी मधु शर्माले भनिन्, ‘मलाईचाहिँ मासु नामै असहज लाग्ने भएकोले एक दुई टुक्रा खाएपछि खान मन लागेन ।’

सम्भवत : नेपालमै पहिलो पल्ट भारतबाट भित्राइएको यस्तो ‘मासु’ पशुलाई माया गर्ने तर मासु छाड्न नसक्नेका लागि राम्रो विकल्प हुनसक्ने शाकाहारी अभियन्ता शोभा शाक्यले बताइन् । सो नक्कली मासु राजधानीस्थित टिफिन ब्रेक क्याफे, खिचापोखरीले नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो । रेस्टुरेन्टका कुक प्रेम श्रेष्ठले आफ्नो रेस्टुरेन्टमा सो नक्कली मासु छोइला र ‘चिल्लि’का रुपमा प्रयोग गरिने बताए !

भेजफेस्टको अर्काे स्टलमा भटमासबाट बनेको दूध निर्मित चिया र भटमासकै दहीसमेत उपलब्ध थियो । सो स्टलका संचालक तथा बौद्धस्थित लभिङ हार्ट रेस्टुरेन्टका मालिक शक्ति योन्जनले भने, ‘हर्माेन खुवाइएका गाईवस्तुका दूध र मासुको विकल्प अब बनस्पति दूध तथा बनस्पति मासु हो । यो पुर्ण सुरक्षित, पोसिलो र स्वस्थ्य छ ।’ उनले आफ्नो ‘भिगन रेस्टुरेन्ट’मा पूर्ण रूपमा अल्कोहलरहित मदिरासमेत बेच्ने गरेको बताए ।

यता, ‘सद्गुरु’ नामक स्टलमा ‘फिस बार्बिक्यु , भेज फिसफ्राइ’ उपलब्ध थिए । नाम ‘माछामासु’ भएपनि यहाँका सबै परिकार पूर्ण शाकाहारी हुन् । ‘मासु छाड्न चाहनेहरूले आफूले खाइरहेको स्वादको विकल्प खोजेका छन्, जति धेरै विकल्प भए,उति धेरै मांशाहारी शाकाहारी बन्नेछन्,’ सहभागी विरवल तामाङले भने ।

शनिवारदेखि आइतबारसम्म चलेको उक्त महोत्सव नेपालको पहिलो हो ।