
काठमाडौं, २७ फागुन । ब्याजदर बढाएको विषयलाई लिएर अन्ततः एनआईसी एशिया बैंक एक्लिएको छ ।
अहिले संचालनमा रहेका ‘क’ वर्गका २७ वटा बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिको आइतबारको भेलाले एनआइसी एशिया बैंकसँग कारोबार नगर्ने निर्णयलाई सदर गरेको छ । नेपाल बैंकर्स संघले शुक्रबार एनआइसीसँग अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको थियो ।
‘दैनिक जसो छलफल भइरहेको छ । हामीले शुक्रबार गरेको निर्णय यथावत राखिएको छ’- नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले दैनिक नेपालसँग भने ।
गत साता बाणिज्य बैंकका सिइओहरुको बैठकले बचतमा ८ प्रतिशत र मुद्दतिमा ११ प्रतिशत भन्दा बढी ब्याज नदिने भद्र सहमति गरेको थियो । तर, खुल्ला अर्थतन्त्र अनुसार प्रतिस्पर्धामै ब्याजदर कायम हुनुपर्ने भन्दै एनआइसी एशियाले बचतमा १० प्रतिशत र निक्षेपमा १२ प्रतिशत ब्याज अफर गरेको थियो । त्यसपछि विवाद सुरु भएको हो ।
अरु बैंकले कारोबार नगर्ने निर्णय गरेपछि एनआइसी एशियाको अन्तर बैंक लगायतका कारोबार प्रभावित हुने भएको छ ।
अब के हुन्छ ?
विश्व बजार, विश्व व्यापी मान्यता र खुल्ला बजार अर्थतन्त्र अनुसार आफूहरुले प्रतिस्पर्धामा ब्याजदर कायम गर्न पाउनुपर्ने पक्षमा एनआइसी एशिया देखिएको छ । बैंकहरुलाई नियम गर्ने कानुन ‘बाफिया’ अनुसार पनि आफूहरुको कार्य उचित रहेको एनआईसीको तर्क छ ।
तर, नेपाल बैंकर्स संघले भने एनआईसी एशिया सहमतिमा आउनुको विकल्प नरहेको बताएको छ । ‘सहमतिमा आउनुको विकल्प छैन्, उहाँहरु एक दुई दिनमा सहमतिमा आउनुहुन्छ’ – संघका अध्यक्ष ढुंगानाले दैनिक नेपालसँग भने ।















प्रतिक्रिया