काठमाडौं, २७ फागुन । प्रधानमन्त्री बनेको झण्डै एक महिनापछि केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारले विश्वासको मत लिँदै छ ।
ओली नेतृत्वको सरकारले आज विश्वासको मत लिनेछ । ओलीको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन देखिएको छ ।
दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरूको अहिलेसम्मको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाइभन्दा १२ मत बढी देखिएको छ ।
प्रधानमन्त्री ओलीलाई अहिलेसम्म एमालेका १ सय २१, माओवादी केन्द्रका ५३ र राजपाका १७ सांसदको समर्थन रहने तथ्याङ्कले देखाएको छ ।
स्वतन्त्र सांसदको हैसियतमा रहेका राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र हुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामाले पनि सरकारका पक्षमा मतदान गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन संघीय समाजवादी फोरम पनि सकारात्मक छ । विश्वासको मत दिने–नदिने विषयमा आज बस्ने संसदीय दलको बैठकबाट निर्णय हुनेछ । प्रतिनिधिसभामा फोरमका १६ सांसद छन् ।
संविधानको धारा ७६ को उपधारा ४ मा प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अपराह्न ३ बजे बस्ने बैठकमा ओलीले विश्वासको मत लिने कार्यसूची छ । ओली ३ फागुनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
संसद्बाट विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री ओली सरकारलाई पूर्णता दिने तयारीमा छन् । ओलीले १४ फागुनमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।















प्रतिक्रिया