काठमाडौं, २६ फागुन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको प्रमाणपत्रलाई लिएर अनशनकारी डा.गोविन्द पोखरेलले बबण्डर मच्चाइरहेका छन् ।
आफै दोहोरो जन्ममिति काण्डमा फसेका डा.केसीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध अभिव्यक्ति दिइरहेका छन् । डा.केसीको दोहोरो जन्मतितिका विषयमा पनि अनुसन्धान गरेर कारबाहीको माग उठ्न थालेको छ । डा.केसीलाई पछिल्लो समय विवेकशिल साझा पार्टीका नेता तथा कार्यकर्ता र पश्चिमा राष्ट्र निकटका एनजिओ तथा आईएनजिओले उचालिरहेको आरोप लागेको छ ।
केही समयअगाडि सर्टिफिकेट विवाद देखाएर प्रधानन्यायाधीशबाट रोक्ने मनसायले लामो समय न्याय क्षेत्रमा बिताएका प्रधानन्यायाधीश पराजुलीका विषयमा रिट दायर भएको थियो । पराजुलीलाई कहिले दुईवटा नागरिकता, कहिले छुट्टाछुट्टै जन्ममिति त कहिले सर्टिफिकेटको विषय उठाएर व्यक्तिगत जीवनमाथि ठूलो प्रहार भएको छ ।
अर्कातिर मनमोहन मेडिकल कलेजको नाम सुन्नासाथ अनशन बसिहाल्ने अनशनकारी डा.केसीले मागेका केही प्रमाणपत्र फेलापरेको छ ।
प्रधानन्यायाधीश पराजुलीका विषयमा उठाइएका अहिलेका प्रमाणपत्र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सर्वोच्च अदालतको शाखा अधिकृतका हैसियतमा २०३६ साल असार २७ गते सबै डकुमेण्ट प्रमाणित गरेर पराजुलीलाई चारित्रिक प्रमाणपत्र दिएको भेटिएको छ ।
त्यतिबेला अधिवक्ताको प्रमाणपत्र सर्वोच्च अदालतले नै दिने व्यवस्था भएकाले श्रेष्ठले प्रमाणित गरेका रहेछन् । त्यतिबेला फोटोकपी नहुने भएकाले प्रमाणपत्र जस्ताकोतस्तै लेखेर बुझाउनुपर्ने व्यवस्था रहेको थियो ।
सक्कल हेरेर प्रमाणित गर्दा तत्कालीन शाखा अधिकृत कल्याण श्रेष्ठले प्रमाणीकरण गरेर २०३६ साल भदौ ३ गते सर्वोच्च अदालतका रजिष्ट्रारबाट प्रमाणपत्र दिइएको छ ।
प्रधानन्यायाधीश पराजुलीका विषयमा उठेका जतिसुकै जिज्ञासा छन ती सर्टिफिकेट केन्द्रित छन् । पराजुलीका प्राप्त डकुमेण्ट हेर्दा २०२८ सालमा चितवनको सारदा मावि सारदानगरबाट टेष्ट पास भएको तर एसएलसीमा ब्याक लागेपछि ट्रान्फर सर्टिफिकेट बनाइएको छ ।
ट्रान्सफर सर्टिफिकेटकै आधारमा पराजुलीले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठबाट एसएलसी उत्तीर्ण गरेको देखिएको छ । (प्रधानन्यायाधीश गोपाल पराजुलीका यी डकुमेन्टहरू घटना र विचारबाट साभार गरिएका हुन्)























प्रतिक्रिया