३ कार्तिक २०८३, मंगलबार

एमालेबाट को बन्ला राष्ट्रपतिको उम्मेदवार ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-रामकुमार शाही/दैनिक नेपाल
काठमाडौँ, २२ फागुन । आउँदो फागुन २९ गते देशले नयाँ राष्ट्रपति पाउनेछ । निर्वाचन आयोगले राष्ट्रपति चुनावको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । सोमबार मात्रै मतदाता नामावली सार्वजनिक भएको छ । आयोग मात्र होइन दलहरु पनि राष्ट्रपति निर्वाचनको तयारीमा जुटेका छन् । बुधबार (भोली) राष्ट्रपति निर्वाचनको उम्मेदवार दर्ताको समय तोकिएको छ । संसदमा प्रष्ट बहुमत भएकाले वाम गठबन्धनले राष्ट्रपति जित्ने पक्का छ ।

वाम गठबन्धनभित्रको भागबण्डा अनुसार एमालेले राष्ट्रपति र माओवादी केन्द्रले उपराष्ट्रपति पाउनेछ । माओवादीले उपराष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा औपचारिक छलफल नगरेपनि एमाले भने छलफलमा जुट्दैछ । एमालेले राष्ट्रपतिको उम्मेदवार तय गर्न मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा स्थायी समिति बैठक बोलाएको छ ।

एमालेको भागमा राष्ट्रपति परेको र जित्ने निश्चित भएकाले राष्ट्रपति को बन्छ भनेर चासोपूर्वक हेरिएको छ । एमालेबाट पूर्वप्रधानमन्त्री एवं पूर्व पार्टी अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिमा इच्छा देखाएका छन् । उनले सार्वजनिक रुपमै आफू राष्ट्रपति बन्न चाहेको अभिव्यक्ति दिएका थिए । र, उनको दाबीलाई स्वभाविक पनि मानिएको छ । पार्टी अध्यक्ष र देशको कार्यकारी पद सम्हालिसकेका, भद्र र शालिन नेताका रुपमा चिनिएका खनाललाई राष्ट्रपतिको उम्मेदवार हुने भने त्यति सजिलो छैन ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि दोहोरिन चाहेकाले खनालाई संकट आइपरेको हो । तत्कालिन एमाले उपाध्यक्ष भण्डारी २०७२ कार्तिक ११ गते संसदमा ३ सय २७ मत ल्याएर नेपालको पहिलो महिला राष्ट्रपति चुनिएकी थिइन् । राष्ट्रपति भइसकेपछि दलीय आवद्धता त्याग्नुपर्ने संवैधानिक व्यवस्था अनुसार भण्डारीले एमालेको सदस्यता त्यागेकी थिइन् । तर, उनी अहिले फेरि एमालेबाटै राष्ट्रपतिको उम्मेदवार बन्न चाहान्छिन् । यसका लागि उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग दोहोरिन चाहेको आशय व्यक्त गरिसकेकि छन् । केही समय अघि उनले शितलनिवासमा प्रचण्ड परिवारलाई डिनर समेत दिएकी थिइन् । भण्डारीले पदीय मर्यादा ख्याल गर्दै अरुमार्फत नै ओली र प्रचण्डसँग लविङ गरिरहेको बुझिएको छ । उनले टेलिफोन र निकटस्थ नेताहरूमार्फत ‘लबिङ’ तीव्र पारेकी छन् ।

ओलीसहितका संस्थापन पक्षका नेताहरु भण्डारीलाई दोहोर्‍याउने पक्षमा रहेपनि उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता खनाल नयाँ अनुहार पठाउनुपर्ने पक्षमा छन् । गौतमले सार्वजनिक रुपमै खनाललाई अबको राष्ट्रपति बनाउनुपर्ने बताएपनि वरिष्ठ नेता माधवकुमार नेपालले मुख खोलिसकेका छैनन् । खनालले भेटेरै सहयोग मागे पनि उनी कतै खुलेका छैनन् । तर, नेपाल पक्षका अन्य नेता खनाललाई राष्ट्रपति बनाउनुपर्ने लविङमा लागिरहेका छन् । नेता नेपाल अहिले ओलीलाई चिढ्याउने पक्षमा नरहेको बुझिएको छ । राष्ट्रपति भण्डारी पनि नेता नेपाल आफ्नो पक्षमा उभिनेमा आशावादी छन् । नेपालको सहयोग रहँदा सर्वसम्मत या मतदान, जुनसुकै प्रक्रियाबाट पनि खनालको पक्षमा निर्णय हुन सक्छ । ओलीलाई चिढ्याउने मनस्थितिमा नरहेका नेपाल अन्तिम निर्णय गर्दा भने खनालकै पक्षमा लाग्ने सम्भावना रहेको स्रोतले जनाएको छ । यस हिसाबले एमालेबाट अबको राष्ट्रपतिको उम्मेदवार छान्नमा नेपाल निर्णायक देखिएका छन् । उनले जसलाई समर्थन गर्छन, उही व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुने अवस्था छ ।

दुवै पक्षले अडान नछाडे मतदान हुने स्थिती आउनेछ । तर, अहिले नै मतदानका विषयमा केही भनिएको छैन । मतदान भएमा खनाल ३ देखी ४ मतले विजयी हुने सम्भावना रहेको उनीनिकट नेताहरुले बतनाएका छन् । मतदान भए भण्डारीलाई दोहो¥याउन नहुने पक्षमा नेताहरु खनाल, नेपाल, गौतम सहित चारै उपाध्यक्षहरु, उपमहासचिव घनश्याम भुषाल, सचिव योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, स्थायी समिति सदस्यहरु किरण गुरुङ, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने लगायतले मत व्यक्त गर्ने स्रोतको दाबी छ ।

दोहोर्‍याउने पक्षमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल उपमहासचिव विष्णु पौडेल, सचिवहरु, प्रदिप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुवास चन्द्र नेम्वाङ लगायतले मत व्यक्त गरेका छन् । तर, स्थायी समिति सदस्य गुरुङ र पोखरेल क्रमश: प्रदेश नं. ४ र ५ को मुख्यमन्त्री भएकाले कार्यक्षेत्रमै व्यस्त छन् । उनीहरु मंगलबारको बैठकमा सहभागी हुने/नहुने पोखरेलको टुङ्गो छैन ।

एमालेमा २६ जनाको स्थायी समिति छ । जसमा २२ जनाले मात्र निर्णय प्रक्रियामा भाग लिन पाउँछन् । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, पदेन सल्लाहकार समिति अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी आमन्त्रित स्थायी समिति सदस्यको हैसियतमा मात्र छन् ।

मतदानको स्थिति आएपनि खनाल सामना गर्ने मनिस्थितिमा पुगेका छन् । नेपाल पक्षका केही नेताले धोका नदिए उनि जित्नेमा ढुक्क देखिन्छन् । खनाल अघिल्लोपटक पनि राष्ट्रपतिको आकांक्षी थिए । यसपटक भने खनाल ‘ब्याक’ नहुने निकटस्थ नेताहरुसँग बताउने गरेका छन् ।

ओली र प्रचण्ड वर्तमान राष्ट्रपति तथा उपराष्ट्रपतिलाई दोहो¥याउने पक्षमा सकारत्मक भएपनि यदी एमालेबाट नयाँ व्यक्ति प्रस्ताव गरिए माओवादीले पनि सोच्नुपर्ने हुन्छ ।