काठमाडौं, २२ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकास र उन्नतीका लागि राजनीतिक नेतृत्वमा परिवर्तन अनिर्वाय रहेको बताएका छन् ।
संसदको मंगलबारको बैठकमा सम्बोधन गर्दै दाहालले परिवर्तनका लागि पहिला राजनीतिक नेतृत्व सुधार हुन आवश्यक रहेको बताए । ‘शान्ति प्रक्रियामा हामीले ठूलो योगदान गरेका छौँ’, उनले भने, ‘प्रतिपक्षका साथीहरूले पनि आफूलाई सुधार गर्नुपर्छ ।’
केपी ओली नेतृत्वको वर्तमान सरकारले सुशासन, स्थायित्व र विकास हुने उनले बताए । जनताले गरेको फैसलाप्रति इमान्दार हुनुपर्ने दाहालले बताए ।
वाम गठबन्धन पनि धेरै दिन नरहने उनले बताए । ‘पार्टी एकता हुन्छ । वाम गठबन्धन धेरै दिन हुँदैन’, उनले भने, ‘प्रतिपक्ष दलसँग मिलेर काम गर्न चाहन्छौँ । सरकारले पाँच वर्ष काम गर्नेछ । यो अवधिमा नयाँ युगको सुरुवात हुनेछ ।’
मुलुकमा मौलाएको भ्रष्टाचारमा चिन्ता जनाएका दाहालले भने, ‘भ्रष्टाचार मौलाएको छ । दोषीलाई दण्डको व्यवस्था गर्नुपर्छ ।’ उनले राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था गर्नुपर्ने बताए ।
दाहालले छिमेकी मुलुकहरूसँग राम्रो सम्बन्ध राखेर देशको उन्नती चाहेको बताए । ‘हामी चीन वा भारत परस्त होइनौँ’, उनले भने, ‘चीन र भारतको बीचमा हुनु अभिशाप होइन । यसलाई अवसरका रुपमा लिनुपर्छ ।’
















प्रतिक्रिया