काठमाडौं, २२ फागुन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनमा जनताले वुद्धिमानपूर्वक उचित निर्णय गरेको बताएका छन् । सबै निर्वाचनबाट वाम गठबन्धनलाई ठूलो जिम्मेवारी आएको बताए ।
संघीय संसदको बैठकमा मंगलबार सम्बोधन गर्दै नेता नेपालले जनताले दिएको दायित्वअनुसार काम गर्नुपर्ने बताए । जित्नेले अंकार र हार्नेले निराश हुन नहुने नेता नेपालको भनाइ छ ।
सत्तापक्ष र प्रतिपक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका एमालेका नेता नेपालले भने, ‘प्रतिपक्ष दल वेटिङ सरकार हो ।
अहिले नै आत्तिएर वा अत्तालिएर विरोध गर्न थाल्ने हो भने त्यसको परिणाम प्रतिपक्ष दल आफैले बोक्नु पर्ने हुन्छ । वर्तमान सरकारलाई काम गर्न दिनुपर्छ ।’ उनले नेपाली कांग्रेसतर्फ संकेत गर्दै नआत्तिएर जिम्मेवारी बहन गर्न सुझाव दिए ।
एमालेका नेता नेपालले सरकार विस्तारको क्रममा रहेको भन्दै छिट्ट सरकारले पूर्णता पाउने बताए । उनले भने, ‘वाम गठबन्धनको सरकारले जनचहनाअनुसारको काम गर्छ । आउनुस् हातेमालो गरौँ ।’ वर्तमान सरकारको हातखुट्टा कसैले बाँध्न नहुने उनले बताए ।
‘संसद र संसदीय समितिहरूले सरकारको हातखुट्टा बाँध्नु हुँदैन’, उनले भने, ‘सरकारलाई सहज रुपमा काम गर्न दिनुपर्छ । देशले कोल्टे फेर्नेछ ।’
वाम गठबन्धनले देशको मुहार फेर्ने भन्दै नेता नेपालले भने, ‘कम्युनिष्ट सरकारसँग चिन्ता गर्नुपर्ने आवश्यक्ता छैन । अधिनायकवाद पनि आउँदैन । विधि र शासनअनुसार नै सरकार चल्छ ।’ वाम गठबन्धन लोकप्रिय र जनतामा भिजेको दाबी गर्दै नेता नेपालले भने, ‘यो सरकारलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन छ । बधाइ दिएका छन् ।’
















प्रतिक्रिया