१ कार्तिक २०८३, आइतबार

राहुघाट जलविद्युत् आयोजना निर्माण शुरु भएन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाबियाचौर, १८ फागुन । ठेक्का सम्झौता भएको तीन महिना बिते पनि राहुघाट जलविद्युत् आयोजना निर्माणको काम शुरु हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको ४० मेगावाट क्षमताको राहुघाट निर्माणका लागि गत मंसिर ७ गते भारतीय निर्माण कम्पनी जयप्रकाश एशोसिएट्ससँग रु छ अर्बमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता भएको तीन महिनासम्म पनि आयोजना निर्माण शुरु नहुँदा स्थानीय निराश भएका म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए । ‘आयोजना निर्माणमा भएको ढिलाइले पुरानै समस्या दोहोरिने चिन्ता छ’, उनले भने ‘सन् २०२१ सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि तीन महिना त्यत्तिकै बित्यो ।’

आयोजना प्रमुख श्रीराम पाण्डेले ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकमा कम्पनी स्वीकृतिका लागि पठाएको पत्रको उत्तरको प्रतीक्षामा रहेको बताए । बैंकले ठेक्का सम्झौता स्वीकृत गरेपछि निर्माण कम्पनीले काम अघि बढाउने उनको भनाइ छ । इञ्जिनियरिङ, प्रोक्योमेन्ट एण्ड कन्ट्र्याक्ट (इपिसी) मोडेलमा निर्माण हुन लागेको सो आयोजनाको सिभिल र हाइड्रोमेकानिकलको काम गर्न रु छ अर्बमा ठेक्का सम्झौता भएको छ ।

बत्तीस मेगावाट क्षमतामा डिजाइन गरिएको सो आयोजना पुनः डिजाइनका क्रममा आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको थियो । रघुगंगा गाउँपालीकाको पिप्ले, दग्नाम र झिँमा आयोजनाका लागि आवश्यक दुई सय ८२ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण लगभग भइसकेको छ । बाँधस्थलमा निर्माण गर्नुपर्ने आधारशिविरका लागि थप जग्गा खरिद गर्न आयोजनाले अधिग्रहणको काम अगाडि बढाएको छ ।

राहुघाट कालीगण्डकीको सहायक नदी हो । उक्त आयोजना कम्पनी मोडेलमा निर्माण गर्न लागिएको छ । रघुगंगा गाउँपालीका– ३ पिप्लेमा रघुगंगा हाइड्रोपावर लिमिटेडको कार्यालय स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीनाथ दाहालले बताए । कर्मचारी र सर्वसाधारणका लागि पनि सेयर बिक्री गर्ने योजना छ ।

रघुगंगा गाउँपालीकाको झिँ र दग्नामको सिमानामा बाँध रहने सो आयोजनाको विद्युतगृह बेनी जोमसोम सडक छेउमा पर्ने तिल्केनीचौरमा रहने बताइएको छ । पिप्लेमा आवासगृह भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

विद्युतगृहदेखि बाँध रहने ठाउँसम्म ट्याक खोलीएको छ । पुरानो कम्पनीले ६३ मिटर मात्र सुरुङ खनेको थियो । उक्त आयोजनाबाट उत्पादीत विद्युत कालीगण्डकी प्रशारण लाईनमार्फत केन्द्रिय प्रशारण लाईनमा जोडीने बताइएको छ । –रासस