४ कार्तिक २०८३, बुधबार

‘थिएटर फर योङ्ग पिपल’बारे विमर्श गर्दै ‘आसितेज’को एसिया बैठक सकियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । बाल रङ्गमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन ‘आसितेज इन्टरनेशनल’को एसिया बैठक सम्पन्न भएको छ । यसपटक जापानको टोकियोमा नाट्य महोत्सवका साथ साना बालबालिकाका लागि रङ्गमञ्चको अवधारणा ‘थिएटर फर योङ्ग पिपल’बारे विमर्श गर्दै बैठक सम्पन्न भएको हो ।

आसितेज एसियाको सो बैठकमा नेपालका तर्फबाट आसितेज नेपालका संस्थापक तथा अध्यक्ष दिपर्शन जंग राणा सहभागी भएका थिए । बैठकमा उनले नेपालमा बाल रङ्गमञ्च सम्बन्धी भइरहेका गतिविधिबारे एसियाली जगतलाई जानकारी गराए ।

नेपाली बाल रङ्मञ्च सुरुवातकालिन समयमा रहेको जनाउँदै अध्यक्ष राणाले नेपाली रङ्गमञ्चमा बाल रङ्गमञ्चको चुनौती र अवसर उत्तिकै रहेको बैठकमा उल्लेख गरे । त्यसका लागि समृद्ध देशका आसितेज सेन्टरहरुको निरन्तर सहयोग र परामर्श जरुरी रहेको भन्दै नेपालमा ‘थिएटर फर योंग पिपल’को अवधारणामा रङ्गकर्मी, सम्बन्धित निकाय र अभिभावको ध्यान जान थालेको जनाए ।

एसियाका १२ देश र अन्तर्राष्ट्रिय आमन्त्रित प्रतिनिधिहरुको सहभागितामा सम्पन्न बैठकले एसियाली बालबालिका र बाल रंगमञ्चका समस्या र अवसरबारे विमर्श गरेको थियो । साथै पछिल्लो समय सिरियामा भइरहेको हिंसामा बालबालिका निशानामा परेकोमा दुःख व्यक्त गर्दै बैठकले भत्सर्ना समेत गरेको छ ।

बैठकबाट आसितेज इन्टरनेशनलको वार्षिक ‘आर्टिस्टिक ग्यादरिङ’ यसपटक आउँदो अगस्टमा एसियाकै चीनमा हुन लागेकोले तयारीमा जुट्न आह्वान गरेको छ । फेब्रुवरी २१ देखि एक सातासम्म भएको बैठकमा आसितेजका अन्तर्राष्ट्रिय अध्यक्ष, इभिटे हार्डी, महासचिव लुइस भ्यालेन्ट तथा चीन, वंगलादेश, जापान, श्रीलंका, थाइल्याण्ड, हङकङ, इरान, इजरायल, कोरिया, न्यूजिल्याण्ड, उज्वेकिस्तान लगायतका प्रतिनिधिहरु सहभागी रहेको आसितेज नेपालका महासचिव केदार श्रेष्ठले जानकारी दिए ।