
काठमाडौँ, १३ फागुन । पूर्वी क्षेत्रमा गुन्डागर्दी तथा आतंक फेलाउँदै आएका ‘गुन्डा नाइके’ एलिस गुरूङ पक्राउ परेका छन् । विराटनगर प्रहरीले गुरूङलाई विराटनगरको महेन्द्र चोकको एक होटेलबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुण बिसीले जानकारी दिए ।
प्रहरी आएको सूचना पाउन साथ संगै रहेका युवाले गुरुङलाई भगाउने प्रयास गरेको प्रहरीले जनाएको छ । भाग्न खोज्दै गर्दा नियन्त्रणमा लिन चारैतिरबाट घेरा हालेपछि प्रहरीमाथि पनि आक्रमणको प्रयास भएको एपसी बिसीले बताए ।
विराटनगरका पेट्रोलियम एवम् तरकारी व्यवसायी ४९ वर्षीय पशुपति भगतमाथि गत माघ ५ गते राति भएको आक्रमणको मुख्य योजनाकारका रुपमा प्रहरीले विशेष गरेर उनको खोजी गरिरहेको थियो। घटनाको योजना बनाएर उनी फरार भएका कारण तत्काल पक्राउ गर्न नसकिएको प्रहरीले बताउँदै आएको थियो ।
घटनामा संलग्न विराटनगर १० का ३२ वर्षीय मोहम्मद सिद्धिकीलाई भने पक्राउ गरेर प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा चलाइसकेको छ । सिद्धिकी यस अघि नै अदालतले मागेको ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन् । गुरुङ भने अहिलेसम्म फरार थिए । गुरुङले योजना बनाउने र सिद्धिकीले काम गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
१० वर्ष भन्दा लामो समयदेखि राजनीतिक छत्रछाँयामा असूली, ठेक्कापट्टा र गुण्डागर्दी गर्दै आएका गुरूङको योजनामा विराटनगरमा यस अघि पनि व्यावसायी, राजनीतिकर्मी र सर्वसाधारणमाथि काटमारका आधा दर्जन बढी घटना भइसकेको प्रहरीको भनाइ छ। तर उनले राजनीतिक दबाबका भरमा उन्मुक्ती पाउँदै आइरहेका छन् । पक्राउ परेका गुरूङलाई ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया