१४ कार्तिक २०८३, शनिबार

समलिंगी जोडीलाई नेपालमा भिसा

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतको फैसलापछि एक समलिंगी जोडीले वैवाहिक सम्बन्धका आधारमा गैर पर्यटकीय भिसा पाएका छन् ।

अध्यागमन विभागले समलिंगी विवाह गरेकी कञ्चनपुर घर भई भक्तपुर अनन्तलिंगेश्वर बस्ने सुमन पन्त र अमेरिकी युवती लेस्ली लुइक मेल्निकलाई शुक्रबार ६ महिनाको गैरपर्यटकीय भिसा दिएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

भिसा लिन दुवै जना शुक्रबार अपराह्न अध्यागमन विभाग पुगेका थिए । सुमन र अमेरिकी नागरिक लुइकले २०१५ डिसेम्बर १८ मा अमेरिकाको क्यालिफोर्नियामा ‘कोर्ट म्यारिज’ गरेका थिए ।

अध्यागमनले भिसा दरखास्त फारममा पति वा पत्नी उल्लेख भएकाले समलिंगी जोडीलाई भिसा दिन नमिल्ने भनेको थियो । त्यसपछि उनीहरू न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका थिए ।

लेस्लीले नेपालमा सुमनसँगै बस्न गैरपर्यटकीय अन्तर्गतको म्यारिज भिसाका लागि सन् २०१६ डिसेम्बर २९ अध्यागमन विभागमा निवेदन दिएकी थिइन् । भिसा लिने प्रक्रियामा गरिने सनाखतमा पति/पत्नी शब्द प्रयोग नगरी अंग्रेजी भाषमा ‘स्पाउस’ शब्द प्रयोग गरिएको छ । सर्वोच्चको आदेशबमोजिम नै उनीहरूले भिसा पाएका हुन् ।

अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले गत कात्तिकको सर्वोच्चको आदेशबमोजिम पन्त र मेल्निकीलाई भिसा दिइएको बताए। निर्देशक निरौलाले भने, ‘उनीहरूलाई पहिलो पटकलाई ६ महिनाको भिसा दिएका छौं ।’

उनीहरूले भिसाका लागि अमेरिकामा दर्ता भएको विवाह प्रमाणपत्र, नेपालस्थित अमेरिकी दूतावासले दिएको प्रमाणपत्रलगायत कागजात पेस गरेका थिए । भिसा पाइसकेपछि उनीहरू निकै हर्षित मुद्रामा देखिन्थे ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले कात्तिकमा उनीहरूलाई भिसा दिन आदेश दिएको थियो । आदेशसँगै समलिंगी जोडीले गैरपर्यटकीय भिसा पाउने बाटो खुला भएको हो ।

सर्वोच्चले निवेदिकाले दाम्पत्य सम्बन्ध कायम भइसकेको व्यक्ति यिनै हुन् भनी सनाखत गरेमा र फारममा आवश्यक पर्ने अन्य कागजपत्र दाखिल गरेमा पति वा पत्नी को हो भनी नखुलाएको भन्ने आधारमा निवेदन अस्वीकार नगर्न आदेश दिएको थियो ।

सर्वोच्चले अध्यागमन नियमावली, २०५० को नियम ८ (१) बमोजिम निवेदिका सुमन पन्तको दाम्पत्य सम्बन्ध काय रहेको लेस्ली लुइस मेल्किनलाई गैरपर्यटकीय भिसा जारी गर्न परमादेशको आदेश जारी गरेको थियो । सर्वोच्चले अधिकांश व्यक्तिले जन्मँदा महिला वा पुरुषको जनेन्द्रीय लिएर जन्मे पनि सानो समूहका व्यक्ति पुरुष वा महिला के हो भनी स्पष्ट छुट्टिने अंग लिएर नजन्मने जनाएको छ । ‘वयस्क हुँदै गएपछि जुन जनेन्द्रीय लिएर जन्मेको हुन्छ सो जनेन्द्रीयका कारण बन्ने पहिचानअनुसार व्यवहार गर्दैनन्’, फैसलामा उल्लेख छ ।

अध्यागमन विभागले समलिंगी जोडीलाई भिसा दिन नमिल्ने भनेपछि उनीहरू सर्वोच्च गएका थिए ।