
काठमाडौँ, ११ फागुन । राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेसँगै को बन्छ भनेर बहस शुरु भएको छ । यसअघि माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभाको अध्यक्ष बन्ने चर्चा थियो । तर, एमाले–माओवादीबीच भएको सहमती अनुसार राष्ट्रियसभाको अध्यक्षसहित राष्ट्रपति र उपसभामुख एमालेको भागमा परेको छ । यद्यपी, माओवादीकै भागमा परेको भएपनि बादल पार्टीको नेतृत्व गर्दै सरकारमा जान इच्छुक थिए, उनको ठाउँमा अरुले नै मौका पाउने थिए ।
एमालेको भागमा परेपछि अब को बन्दैछ त राष्ट्रियसभाको अध्यक्ष ? स्रोतले दिएको जानकारी अनुसार प्रदेश नम्बर ४ बाट निर्वाचित पर्वतका गणेश तिमिल्सिनाको सम्भावना एकदमै बलियो छ । उनी राष्ट्रियसभा निर्वाचित एमालेका सांसदहरुध्ये ‘सिनियिर’ मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीको एकदमै निकटका पनि मानिन्छन् । पार्टीको पोलिटब्युरो सदस्य एवं ४ नम्बर प्रदेश सहसंयोजक समेत रहेका तिमिल्सिना राष्ट्रियसभा अध्यक्षको बलियो दावेदार हुन् ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रविणता तह अध्ययन गर्दै गर्दा उनी २०३६ सालमा विद्यार्थी राजनीतिमा होमिएका थिए । पर्वतको मोदीगाउँपालिका–७ मा २०१८ जेठ १२ गते जन्मिएका तिमिल्सिनाले गाउँकै पशुपति उच्च माविबाट एसएलसीसम्मको अध्ययन पुरा गरेका हुन । विद्यार्थी जीवन दैखि नै प्रगतिवादी सोचका तिमिल्सीना २०३६ सालमा नेकपा मालेको रेडगार्डको सचिव भएका थिए । २०३७ सालमा अनेरास्ववियुको क्षेत्रीय सम्मेलनबाट पश्चिमाञ्चल क्षेत्रीय समितिको सदस्यमा निर्वाचित तिमिल्सिनाले २०४० सालमा तत्कालिन नेकपा मालेको सदस्यता प्राप्त गरे ।
पार्टी राजनीतिको शुरुवातसँगै सक्रिय राजनीति शुरु गरेका तिमिल्सिना २०४१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव र २०४२ सालमा अनेरास्ववियुको आठौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य भए । तत्कालीन सरकार विरुद्ध विद्रोहको उदघोष गर्दै २०४२ सालको बम काण्डपछि तिमिल्सिनाले ४ बर्ष जेल जीवन विताए । तत्कालीन पञ्चायती सरकारले २०४२ देखि ०४६ सम्म लगातार ४ बर्ष तिमिल्सिनालाई पोखरा, भैरहवा, तौलिहवा, वीरगञ्ज, भद्रगोल जेल र नख्खु जेलमा राखेको थियो ।
तिमिल्सिनासंगै जेलमा तत्कालीन कम्युनिष्ट नेताहरु केपी शर्मा ओली र हितकाजी गुरुङ थिए । ओली अहिले देशको प्रधानमन्त्री र एमाले अध्यक्षको जिम्मेवारीमा छन् । २०४६ सालमा जेलबाट छुटेका उनी प्रजातन्त्र बहालीको आन्दोलनमा पुनः सक्रिय भए । २०४६ सालको जनआन्दोलनमा संयन्त्र सदस्य बनेका उनी पुनः पञ्चहरुको निशानामा परे । तत्कालिन सरकारले पक्राउ गरी ल्याउन टाउकोको मुल्य ५० हजार तोकेको थियो ।
अर्ध भूमिगत अवस्थामा प्रजातन्त्रको पक्षमा आन्दोलनमा सहभागी उनी २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य भए । दोस्रो वैठकबाट केन्द्रीय आयोजक समिति सदस्य बनेका उनी केन्द्रीय सदस्य बन्दा वर्तमान सरकारका प्रधानमन्त्री ओली सोही कमिटीका अध्यक्ष थिए । २०४७ सालमा नेकपा माले मुस्ताङ्गको सचिव, ०४८ मा नेकपा एमाले बागलुङ्गको सचिव, २०५४ सालमा नेपालगञ्जमा सम्पन्न नेकपा एमालेको छैटौ महाधिबेशनबाट बैकल्पिक केन्द्रीय सदस्य निर्वाचित हुँदै धौलागिरी अञ्चल इन्चार्जको जिम्मेवारी सम्हाले ।
२०५९ सालमा जनकपुरमा सम्पन्न नेकपा एमालेको सातौँ महाधिबेशन पछि केन्द्रीय सल्लाहकार समिति सदस्य र २०६५ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित तिमिल्सिना पर्वत जिल्ला संयोजकको रुपमा पार्टीको जिम्मेवारी सम्हालेका थिए । उनी पर्वत जिल्लाको पूर्व जिविस सभापति पनि हुन् ।
काठमाण्डौंमा भएको नवौ महाधिवेशन पछि पुनः केन्द्रीय सदस्य हुँदै अहिले उनी एमालेको पोलिटब्यूरो सदस्य छन । ४ बर्षे जेल जीवनका सारथी ओली प्रधानमन्त्री बनेका बेला तिमिल्सिनालाई उचित जिम्मेवारी दिने तयारीमा रहेको स्रोतले जनाएको छ ।















प्रतिक्रिया