२ कार्तिक २०८३, सोमबार

यसकारण भएन सरकार विस्तार

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-रामकुमार शाही/दैनिक नेपाल

काठमाडौँ, ११ फागुन । शुक्रबार पनि सरकारले पूर्णता पाएन । नेकपा–एमाले र माओवादी केन्द्रभित्र मन्त्रीका लागि आकांक्षी धेरै भएपछि सरकार विस्तार विलम्ब भएको हो । एमालेले १० र माओवादीले ७ वटा मन्त्रालय लिनेगरि दुई अध्यक्षबीच सहमती भएपनि नेताहरुको व्यवस्थापन पेचिलो बन्दा सरकार विस्तारको काम हुन सकेको छैन ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक १७ मन्त्रालय राख्ने औपचारिक निर्णय गरिसकेको छ । शुक्रबार नै बसेको एमाले स्थायी समिति बैठक पार्टीबाट मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई दिदै सकिएको छ ।

प्रधानमन्त्री ओलीले नेताहरूको योग्यता, क्षमता हेरेर मन्त्री चयन गर्ने सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । मन्त्री छान्नका लागि प्रधानमन्त्रीले शीर्ष नेताहरूसँग पनि परामर्श गर्नेछन् । एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई पनि सरकारमा सहभागीता गराउन पहल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शुक्रबार मन्त्रिपरिषद् विस्तारको सम्भावना एकदम न्यून रहेको बताए । उनले आउँदो आइतसम्म सरकार विस्तारको काम हुने संकेत गरे । ‘सरकारका नियमित काम भइरहेका छन्, काम रोकिएको छैन । हामी पार्टी एकताको ऐतिहासिक चरणमा छौँ’, दैनिक नेपालसँगको कुराकानीमा रिमालले भने, ‘पाँच वर्षसम्म नजितामुलक काम गर्ने सरकार बनाउनुछ, योग्यतम् मान्छे सरकारमा पठाउनुछ, केही ढिला त हुन्छ नै । को सरकारमा जाने, को पार्टीमा बस्ने भन्ने विषय पनि टुङ्ग्याउनुछ । यसले गर्दा केही ढिला हुन गएको हो ।’

उनले मधेशवादी दललाई कुरेर सरकार विस्तारमा ढिलाई भएको भन्ने कुराको खण्डन समेत गरे । यद्यपी, संघीय समाजवादी फोरम सरकारमा जान इच्छुक देखिएको छ । यसमा ओली र प्रचण्ड सकारात्मक रहेको बुझिएको छ ।

माओवादीले मन्त्री छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’लाई दिएको छ । शुक्रबार दिउँसोसम्म पनि माओवादीले मन्त्री हुनेको नाम टुङ्ग्याउन सकेको छैन । शुक्रबार नै सरकारमा पठाउने नेताहरुको टुङ्गो लाग्ने सम्भावना कम रहेको एक माओवादी नेताले जनाए ।

दुई दलबीचको सहमति नुसार एमालेले अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार, कानून न्याय तथा संसदीय मामिला, पर्यटन, शिक्षा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालय पाएको छ ।

माओवादी केन्द्रले गृह, जलस्रोत तथा उर्जा, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास आवास खानेपानी तथा सरसफाई, वन तथा वातावरण, कृषि सहकारी तथा भूमी व्यवस्थापन, श्रम रोगजार तथा महिला बालबालिका मन्त्रालय पाएको छ ।

को–को छन् आकांक्षी ? 

एमालेबाट यसअघि दुई जना सरकारमा गइसकेका छन् । अब उसले ८ जना मन्त्री छान्नुपर्नेछ । एमाले दोब्बर भन्दा बढी नेता मन्त्रीका आकांक्षी देखिएका छन् ।

एमालेबाट उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली, योगेश भट्टाई मन्त्रीको लबिङमा रहेको बुझिएको छ ।

यसैगरी एमालेबाट सुरेन्द्र पाण्डे, भानुभक्त ढकाल, रघुवीर महासेठ, महेश बस्नेत, गोकुल बाँस्कोटा, शेरबहादुर तामाङ, विरोध खतिवडा, पार्वत गुरुङ, विन्दा पाण्डे, रवीन्द्र अधिकारी, कृष्णकुमार श्रेष्ठ ‘किसान’, जगत विश्वकर्मा, पद्मा अर्याल, शान्ता चौधरी, नारदमुनि राना, प्रेम आले मगर लगायतका नेताहरु मन्त्रीको आकांक्षी देखिएका छन् ।

यसैगरी, माओवादीबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, पम्फा भुसाल, देव गुरङ, देवेन्द्र पौडेल, मातृका यादव, प्रभु साह, लेखराज भट्ट, सत्य पहाडी लगायतका नेताहर मन्त्रीको लविङमा रहेको माओवादी केन्द्रनिकट स्रोतले जनाएको छ ।