काठमाडौं । लोक तथा दोहोरी गीतको क्षेत्रमा हरिमाया गुरुङ भन्ने वित्तिकै मौलिकता पस्कने गायिकाको रुपमा परिचित छिन् ।
उनी गाउँको मौलिकताअनुसार गायनलाई प्राथमिकतामा राख्ने गर्छिन् । उनले गाएका गीतहरु गाउँले परिवेश, समाज अनुसार सुहाउँदो हुने गर्छ अर्थात् नेपाली माटो अनुसारको लोकलय उनीभित्र छ ।
गुरुङ भाषाका गीतहरु हुन् या ठाडो भाका वा गाउँलेको मुखमा झुन्डिने खालका शब्द र भाका भएको दोहोरी गीत हुन् उनका विशेषता हुन् भन्दा फरक पर्दैन ।
सरल शब्द, सरल भाकाभित्र उनको माधुर्य स्वरले अझ मिठास थपेको हुन्छ । गाउँको रोधीदेखि रेडियो नेपालको स्टुडियोसम्म उनका कर्णप्रिय स्वरहरुले गुन्जयमान बनाएको हुन्छ ।
त्यसो उनी गायिकाका मात्र नभएर गुरुङ चलचित्र वा नेपाली चलचित्रमा विभिन्न रोलमा अभिनय पनि गरेकी छन् । डाँडाकाँडा स्वामीको रुख सम्झे दुःख नसम्झे है सुख कुनै जमानाको चर्चित गीत हो ।
६० को दशकमा चर्चाको शिखरमा रहेको यो गीतले तत्कालिन समय जति चर्चा कमाएको थियो अहिले पनि उत्तिकै सदाबहार बनेर उक्त गीत गुन्जिरहेको छ ।
त्यस्तै गोर्खा ताकुकोट अर्को हरिमायाको चर्चित गीत हो । करिब तीन दर्जन गीतमा स्वर दिइसकेकी गुरुङले दुई दर्जनभन्दा बढी गीत लेखन एवं भाका सिर्जना गरेकी छिन् । मौलिकतामा रमाउने गायिका हरिमाया नेपाली कला संस्कृतिलाई माथि ल्याउने काममा निकै नै तल्लिन छन् ।
२०६० सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकी गायिका गुरुङ २०५६ सालदेखि नै रेडियो नेपालको भाषभाषीको कार्यक्रम फूलबारीमा गीत गाउँदै आएकी थिइन् । सोरठी, चु गोर्खा जिल्ला गुरुङ भाषाको गीत र कौडा गरी तीनवटा गीत गाएर स्वर परीक्षा पास गरेकी थिइन् ।
हाइस्कुलदेखि नै स्कुलको वार्षिक कार्यक्रम, बेलाबेलामा हुने सांस्कृतिक कार्यक्रम, गाउँको पूजाआजा र रोधी नै उनको पहिलो गायनको खुड्किलोमा पर्छ । गाउने र नाच्ने काममा उनी गाउँदेखि नै खप्पिस थिइन् ।
मनभरि कलाकार बन्ने रहर बोकेर हिंडे पनि कलाकार कसरी भइन्छ भन्ने उनलाई थाहा थिएन । रेडियोमा बज्ने गीत सुनेपछि मनमा कौतुहलता जाग्थ्यो तर परिवारको साथ थिएन । हुर्केकी छोरी गीत गाउने भइ भने राम्रो हुँदैन ।
कलाकार बन्नु ठीक होइन भन्ने परिवारमा थियो तर उनीभित्र भने कलाकारिताको सोख धेरै थियो । गोर्खाको थालाजुङ–२ जन्मिएकी गायिका गुरुङका जन्मभूमि, ठाडो भाका, रुमाल भुइँमा खस्यो, गोर्खाली ठाडो भाकालगायतका दर्जनौं एल्बम बजारमा आएका छन् ।
गायिका गुरुङलाई यो क्षेत्रमा ल्याउने श्रेय भने गायक युक्त गुरुङलाई जान्छ । गायक गुरुङले रेडियो नेपालसम्म ल्याएर गीत गाउन सिकाए । रेडियोमा गीत गाउने अवसर प्रदान गरेका गुरुङको साथले हरिमाया गुरुङको परिचय उच्च बनाउनमा पनि ठूलो सहयोग पुगेको थियो ।
नलाई सदैव सहयोग गर्ने साथी सावित्री गुरुङ र धादिङकी सीता गुरुङको नाम पनि अगाडि आउँछ । रेडियो नेपालमा गीत गाउने बेलामा साथीहरु कोठामा जम्मा भएर चर्को स्वरमा गाउने गथ्र्यौं, गायिका गूरुङले पुरानो अतित सम्झिँदै भनिन् – ‘स्टुडियोमा पुगेपछि त चिच्याउन नै नपर्ने रहेछ, धेरै सजिलो पनि हुँदोरहेछ । संगीतको एरेन्जअनुसार गाउन पाइँदोरहेछ के थाहा र, हामी त चिच्याएर नै गाउनुपर्ने होला देशभरि रेडियोमा पुग्ने स्वर पो त हो भनेर सोचेका थियौं ।’
भ्वाइस टेस्ट गर्दा देखेको माइकभन्दा रेकर्ड गर्नका लागि राखिएको माइक ठूलो हुँदो रहेछ, गीत रेकर्ड गर्ने बेला त्यो माइक देखेर नै डर लाग्यो, उनले अविश्मरणीय क्षण सुनाइन् ।
गीत रेकर्ड गरिसकेपछि सबैतिर गीत चर्चाको शिखरमा पुग्यो । पहिला पहिलाका गीत ठीकै चले पनि डाँडाकाँडा स्वामीको रुख र गोर्खा ताकुकोटपछि उनको परिवार पनि कान्छीको गीत बज्यो भनेर रेडियोको भोलुम बढाउने बनेका थिए ।















प्रतिक्रिया