
काठमाडौँ, १० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको एक हप्ता पूरा भएको छ । ओलीले गएको बिहीबार नेपालको ४१ औँ प्रधानमन्त्रीका रुपमा सिंहदबारको यात्रा तय गरेका थिए । प्रधानमन्त्रीमा नियुक्त भएसँगै एमालेबाट दुई जनालाई मन्त्री बनाएका ओलीले एक हप्तासम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । माओवादीले मन्त्री पठाउन सकेको छैन । मन्त्रालय कति राख्ने भन्ने टुंगो लागेको छैन ।
आजभोली भन्दाभन्दै एक हप्ता बितिसकेको छ । मंगलबार चितवन पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोही दिन माओवादीबाट दुई जना सरकारमा सहभागी हुने सार्वजनि अभिव्यक्ति दिएका थिए । तर, त्यसको तेस्रो दिनसम्म पनि माओवादी सरकारमा गएको छैन । बुधबार मात्र ओली र प्रचण्डबीच मन्त्रायको संख्या र भागवण्डाका विषयमा बालुवाटारमा छलफल भएको थियो । नेताहरुले बुधबार नै सरकार विस्तार हुने दाबी गरेका थिए । तर, बुधबार पनि सकार विस्तार हुन सकेन । बुधबार नै काठमाण्डौँमा दहचोकमा भएको एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले बिहीबार र शुक्रबारभित्र मन्त्रीपरिषद्ले पूर्णता पाउने उद्घोष गरेका थिए ।
नेताहरुले पनि आज मन्त्री परिषद् विस्तार हुने दाबी गरेका छन् । मन्त्रालय संख्या र भागवण्डा टुङ्ग्याउन बिहीबार पनि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच बालुवाटारमा छलफल चलिरहेको छ । ‘कूल दलले कुन–कुन र कति मन्त्रालय लिने भन्ने विषयमा छलफलले निष्कर्ष निकालेमा सम्भवतः बिहीबार नै मन्त्रिमण्डल विस्तार हुनेछ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
संघीय सजावादी फोरम पनि सरकारमा जान इच्छुक देखिएपछि एमाले–माओवादीको व्यवस्थापन पेचिलो बनेको छ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह पनि आफ्नी पत्नी दुर्गालाई ओली सरकारमा पठाउन चाहान्छन् । उनले ओली–दाहालसँगको परामर्शलाई तीब्र पारेका छन् । १८ वटासम्म मन्त्रालय राख्न दुवै नेता सहमत भएको बुझिएको छ । संविधानमा नै केन्द्र सरकार बढीमा २५ सदस्यीय हुने भन्ने उल्लेख भएकाले मन्त्रालयको संख्या घटाउनुपर्ने बाध्यता छ । संघीय प्रशासनिक पुनःसंरचना समितिले १८ मन्त्रालय बनाउन सिफारिस गरेको थियो भने काशिराज दाहाल नेतृत्वको समितिले १५ मन्त्रालय राख्न सिफारिस गरेको थियो । दाहालको सिफारिस अनुसार अघिल्लो सरकारले १५ मन्त्रालय रहने प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेको थियो ।
तर, एमाले र माओवादीभित्रबाट गरि कम्तिमा ३५ जनाले मन्त्री बन्न पाउनुपर्ने भन्दै लविङ गरिरहेका छन् । आकांक्षीहरुको व्यवस्थान चुनौती भएपछि सरकार विस्तार पनि विलम्व भइरहेको छ । माओवादीले उपप्रधानमन्त्री र गृहसहित ७ वटा मन्त्रालय मागेको बुझिएको छ । अर्थ मन्त्रालय आफूले राखेर माओवादीलाई गृह दिन तयार भएका प्रधानमन्त्री ओली मन्त्रालयको बाँडफाँड भने टुङ्गिएको छैन । ओली–दाहालबीच बालुवाटारमा चलिरहेको भेट सुखद रहे बिहीबार मन्त्रीमण्डल बिस्तार हुनेछ । पार्टी एकताका लागि दुई कार्यदल बनाएर अघि बढेका एमाले–माओवादीबीच मन्त्रालयको भागवण्डा मिलाउनुपर्ने अर्काे बाध्यता छ ।















प्रतिक्रिया