२ कार्तिक २०८३, सोमबार

एकीकृत पार्टीलाई पहिलो गाँसमै ढुङ्गा, नेकपा नाम नपाउने !

8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । सोमबार मात्रै एकताका लागि सहमती गरि नयाँ नाम जुराएका एमाले-माअ‍ोवादीलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । एमाले–माओवादीले सहमतीमा उल्लेख गरेको पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ यसअघि नै अर्कैको नाममा निर्वाचन आयोगमा दर्ता भएको खुलेको हो ।

एमाले–माओवादी एकता संयोजन समितिले सोमबार राती बालुवाटारमा एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमती जुटाएको थियो । सहमतीमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ८ नेताले हस्ताक्षर गरेका छन् । तर, ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीलाई आयोगले गएको मंसीर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ‘घन र कोदालो’ चिन्ह उपलब्ध गराएको खुल्न आएको छ ।

नेत्रविक्रम चन्द विप्लव समूहले ‘नेपाल कम्युनिष्ट पार्टी’ आफ्नो पार्टीको नाम भन्दै दाबी गर्दै आएको छ । रोल्पामा भएको भेलाले पार्टीको नाम नेकपा राख्ने निर्णय गरेपनि चन्दले आयोगमा दल दर्ता गराएका छैनन् । मंगलबार मात्रै विप्लवका नेताहरुले एमाले–माओवादीले आफ्नो पार्टीको नाम चोरेर राजनीतिक संस्कार नदेखाएको आरोप लगाएका थिए । तर, नेकपा नाम गरेको पार्टी २०४८ अघि नै आयोगमा दर्ता रहेको आयोग स्रोतले जनाएको छ । आयोगले प्रतिनिधिसभा निर्वाचनमा सहभागिता लागि दल दर्ता आह्वान गर्दा नेपाल कम्युनिष्ट पार्टी २०७४ साल भदौ १० गते दर्ता गरेको थियो । विप्लव समूहले आफूहरु जनताका बीचमा रहेकाले पार्टी आयोगमा दर्ता गरिरहनु नपर्ने तर्क गरेको छ ।

नाम पहिल्यै आयोगमा दर्ता भएको विषयमा जिज्ञासा राख्दा कानूनी पृष्ठभूमिका एमाले नेता अग्नि खरेलले यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । नेकपा नामको पार्टी पहिले नै दर्ता भइसकेको भए विकल्प खोजिने उनले बताए । ‘त्यसो रहेछ भने केही न केही विकल्प खोज्नुपर्छ/विकल्प आउँछ, हामीले एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान शुरु गरेका छौँ, उहाँसँग (ऋषिराम कट्टेल) पनि छलफल, कुराकानी हुन सक्ला ।’

स्थानीय तह निर्वाचनमा सहभागिताका लागि आयोगले दल दर्ता आव्हान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टीले आवेदन दिएको थियो । त्यतिबेला आयोगले ३९ नम्बरमा नेपाल कम्युनिष्ट पार्टीको सूची प्रकाशित गरेको अभिलेख भेटिन्छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को १(ङ) मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ । यो आधारमा दुई ठूला वाम दलले पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ नपाउने पक्का छ ।

यसअघि मधेस केन्द्रीत दलहरु एक भएर राष्ट्रिय जनता पार्टीको नाममा दर्ताका लागि आयोग पुगेका बेला दर्ताका लागि अस्वीकार गरेको नजिर छ । आयोगले अस्वीकार गरेपछि राजपाले नामको पछाडि नेपाल शब्द थपेको थियो ।