शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

एमाले-माओवादी पार्टी एकतामा सहमति जुट्यो, आजै अनुमोदनको तयारी

दैनिक नेपाल २०७४ फागुन ७ गते १७:०७

काठमाण्डौँ, ७ फागुन । गएको ६ महिनादेखि जारी नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रियामा सहमति जुटेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच सोमाबार दिउँसो भएको ‘वान टु वान’ वार्तामा पार्टी एकताको सहमति जुटेको हो ।

सहमतीलाई अनुमोदन गराउन साँझ ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । दुई नेताबीच शनिबार र आइतबार पनि लामो समय ‘वान टु वान वार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीनिकट स्रोतका अनुसार दुई नेताबीच पार्टीको नाम, नेतृत्व र बैचारिक राजनीतिक विषयमा सहमति जुटेको छ । पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने ओली र प्रचण्ड दुबै अध्यक्ष रहनेछन् । सहअध्यक्ष वा द्वि–अध्यक्ष भन्ने विषयमा भने एकता संयोजन समितिले टुंगो लगाउनेछ । दुई नेताबीच आलोपालो प्रधानमन्त्री हुने सहमति जुटे पनि अवधि भने तोकिएको छैन । सोमबार मात्रै रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आलोपालो प्रधानमन्त्री बनाउने कुरा जायज नभएको आशय सार्वजनिक गरेका थिए ।

जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीको जनवाद, माओवाद लगायतका वैचारिक राजनीतिक विषयलाई बहसमा लैजान दुबै नेता सहमत भइसकेको बुझिएको छ । अघिल्लो बुधबारको संयोजन समिति बैठक यही विषयमा सहमती नजुट्दा बैठक निष्कर्षविहिन भएको थियो भने बिहीबार गठन भएको नयाँ सरकारमा माओवादी सहभागी भएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित