१५ कार्तिक २०८३, आइतबार

भारतीय राजदूत फर्केलगत्तै ओली निवासमा चिनियाँ राजदूत

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी ओलीलाई छिमेकी भारत, चीन तथा सार्क सदस्य मुलुक पाकिस्तान एवं बंगलादेशका समकक्षीले बधाई पठाएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई बिहीबार राति फोनमा र राजदूत मंजीवसिंह पुरीमार्फत चिठी पठाएर बधाई दिएका छन् । ओली सांसद निर्वाचित भएयता तीनपटक टेलिफोनमा र एकपटक चिठी पठाएर मोदीले बधाई दिएका छन्  ।

मोदीले बिहीबार राति १०ः३० बजे प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर बधाई दिएका थिए । मोदीलगत्तै भारतका विदेशमन्त्री सुष्मा स्वराजले पनि ओलीलाई टेलिफोन गरेर बधाई दिएकी छन् । मोदीको विशेष दूतका रूपमा विदेशमन्त्री स्वराज १८ माघमा काठमाडौं आएर त्यही साँझ ओलीसँग रात्रीभोजसहित भेटवार्ता गरेकी थिइन् ।

मोदी र स्वराजको टेलिफोन सन्देश आएलगत्तै बिहीबार राति राजदूत पुरी ओली निवास बालकोट पुगेर बुकीको फूल र मोदीको चिठी हस्तान्तरण गरे ।

पुरी फर्केलगत्तै मध्यरातमा नेपालका लागि चिनियाँ राजदूत यु होङ बालकोट पुगेर चिनियाँ प्रधानमन्त्री ली खछियाङको चिठी हस्तान्तरण गर्दै ओलीलाई बधाई दिएका छन् । दुवै देशका राजदूत प्रधानमन्त्री ओलीको शपथग्रहणमा पनि सहभागी थिए ।

त्यतिबेला पनि सुरुमा भारतीय राजदूत पुरीले र त्यसपछि चिनियाँ राजदूत होङले ओलीलाई बधाई दिएका थिए । ‘बिहीबार राति भारत र चीनका राजदूतले प्रधानमन्त्रीज्यूलाई भेटेर बधाई तथा शुभकामना दिनुभएको छ,’ प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने । चिनियाँ प्रधानमन्त्रीले ओबिओआरको फ्रेमवर्कमा नेपाल र चीनबीच विकासका विभिन्न क्षेत्रमा सहकार्य हुने उल्लेख गरेका छन् ।