२ कार्तिक २०८३, सोमबार

सिटामोल नपाएरै फर्कन्छन् डोल्पाका बिरामी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा, ४ फागुन । त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधी अभाव भएको छ । त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको हाे । पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधीको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

जिल्ला अस्पतालले गत असोज पहिलो सातामा रु एक लाख ५० हजार बराबरको औषधी पठाएको थियो । उक्त औषधीले मंसिरको दोस्रो हप्तासम्म जेनतेन धानेको थियो । “अहिले सिटामोलसम्म छैन, दैनिक बिरामी आउँछन् तर औषधि नहुँदा रित्तै फर्काउनु परेको छ”, त्रिपुराकोट स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख सिर्जना रोकायाले भनिन् ।

स्थानीय तह बनिसकेपछि यस मातहतका सबै स्वास्थ्य केन्द्रको रेखदेख तथा औषधि व्यवस्थापनलगायतको जिम्मा नगरपालिकाको जिम्मामा भएको रोकायाले बइन् । “बारम्बार जानकारी गराउँदासमेत नगरपालिकाले ध्यान दिएको छैन” उनले भनिन्, “घण्टौँ हिँडेर बिरामी आउने गर्छन्, औषधि छैन भन्दै फर्कानु परेको छ ।”

त्रिपुरा स्वास्थ्य चौकी जस्तै लिकु, पहाडा, ल्हाँ र सुँ स्वास्थ्य केन्द्रको अवस्था पनि उस्तै छ । सामान्य औषधिसमेत नभएको पहाडा स्वास्थ्य चौकीका प्रमुख कृष्ण कार्कीले बताए । पाँचवटै स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक सञ्जयकुमार मण्डल स्वास्थ्य केन्द्रमा कहिलेकाहीँमात्र देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

गत पुस १ गते बसेको नगरको कार्यपालिकाको बैठकले रु १५ लाखको औषधि र उपकरण खरिद गर्ने निर्णय गरेको भएपनि जनप्रतिनिधिको बेवास्ताका कारण खरिदमा ढिलाइ भएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत हिराचन्द्र धरलाले बताए । औषधि खरिदका लागि पहल गरिरहेको उनको भनाइ छ ।

पाँच दिनसम्म ज्वरोले थलिएर उपचारका लागि स्वास्थ्य केन्द्र पुगेकी ६० वर्षीया नौसरा बुढाले भनिन्, “अस्पताल गएपनि खाली फर्काउँछन्, सिटामोल पनि छैन ।”

जिल्ला अस्पताल दुनैका प्रमुख डा श्रीकान्त अग्रवालले स्वास्थ्य केन्द्रमा स्थानीय निकायले जिम्मेवारी लिएपछि समस्या समाधानको साटो झनै बल्झिन थालेको बताए । “नगरपालिकाले औषधि खरिद गर्छ भनेर बाटो हेर्दा अहिलेसम्म खरिद गरेको छैन,” उनले भने । –रासस