काठमाडौं, ३ फागुन । एमालेबाट कसलाई मन्त्रीमा पठाउने भन्ने विषय टुङ्गो नलाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ रोकिएको छ ।
नेताहरुबीच पहिलो चरणमा कसलाई मन्त्री बनाउने भन्ने विषयमा समझदारी हुन सकेको छैन । नेताहरुबीच कुरा नमिल्दा प्रधानमन्त्री ओलीको सथप आधा घण्टाका लागि रोकिएको छ ।
शितलनिवासमा सपथ ग्रहणको तयारी भइसकेको छ । अहिले शितलनिवासमा पत्रकार, कुटनीतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिती छ ।
कसलाई मन्त्री बनाउने भन्ने विषयमा अहिले एमाले नेताहरु संवादमा जुटेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार नै आकारको मन्त्रीमण्डल गठनको तयारी गरेका छन् ।
यता, प्रधानमन्त्रीमा ओलीलाई समर्थन गरेको माओवादी केन्द्र भने तत्काल सरकारमा नजाने भएको छ । पार्टी एकताका लागि वार्तामा रहेका दुई दलबीच केही कुरा नमिलेका कारण तत्काल सरकारमा सहभागी नहुने निर्णय भएको एक नेताले बताए ।
बिहीबार साँझ बस्ने पार्टी एकता संयोजन समितिको बैठकपछि सरकारमा जाने/नजाने विषयमा निर्णय लिने ती नेताले बताएका छन् । पार्टी एकताको अन्तिम चरणमा रहेका एमाले–माओवादीबीच सैद्धान्तिक विषयमा सहमती जुट्न बाँकी छ ।















प्रतिक्रिया