काठमाडौँ, २७ माघ । प्रदेश नम्बर २ मा प्रदेश सरकार बनाउन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच सहमति भएको छ । बबरमहलस्थित राजपाको पार्टी कार्यालयमा शनिबार बसेको दुई पार्टीका शीर्ष नेताहरुको बैठकले प्रदेश सरकारको लागि सहमति गरेको हो ।
सहमति अनुसार फोरमले मुख्यमन्त्री पाउने भएको छ भने राजपालाई सभामुख हुने गरी दुई पार्टीबीच भागवण्डाको सहमति भएको छ । जनकपुरमा बसेको बैठकमा राजपाले सरकार आलोपालो चलाउने भनेपछि यसअघि सरकार गठनको सहमति हुन सकेको थिएन ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका महन्त ठाकुरद्वारा हस्ताक्षर गरिएको सहमति पत्रमा फोरमले मुख्यमन्त्रीसँगै उपसभामुख, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउने बताइएको छ । त्यस्तै, राजपाले सभामुख, भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ ।
प्रदेश २ मा मधेसी गठबन्धनले बहुमत सिट जितेका छन् । प्रदेशसभाको प्रत्यक्ष ६४ सिटमध्ये मधेसी गठबन्धन संघीय समाजवादी फोरमले २० र राष्ट्रिय जनता पार्टीले १५ सिट जितेका छन् । त्यस्तै बाम गठबन्धनले १९ र काँग्रेसले ९ सिटमा जित हासिल गरेका छन् ।















प्रतिक्रिया