विराटनगर, २६ माघ । नेकपा(एमाले) बाट प्रदेश नम्बर १ को संसदीय दलको नेता छान्नका लागि शुक्रबार दुई जना बीच मतदान हुने भएको छ ।
संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहेका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका पूर्वमन्त्री शेरधन राईले शुक्रबार बिहान ११ः३० बजे जिल्ला समन्वय समितिस्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराएका हुन् ।
आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहेका छन् भने राईको प्रस्ताव र समर्थकमा हिक्मत कार्की (झापा) र जगदीश कुशियत(सुनसरी) रहेका छन् ।
दाबी विरोधको प्रक्रिया पूरा भएपछि अपरान्ह ३ः३० बजेदेखि मतदान हुने नेकपा(एमाले) मोरङका अध्यक्ष विनोद ढकालले जानकारी गराए । प्रदेश नम्बर १ मा नेकपा (एमाले)को प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ गरी कुल ५१ जना प्रदेशसभा सदस्य छन् । तीमध्ये २६ मत ल्याउनेले संसदीय दलको नेता हुनेछन् । संसदीय दलकै नेता मुख्यमन्त्री हुने सो पार्टीको विधानमा उल्लेख छ । –रासस















प्रतिक्रिया