४ कार्तिक २०८३, बुधबार

रेखा थापाको चित्त दुखाई : युवतीको सर्वाधिक आकर्षक कुरा उसको शरीर मात्रै हो ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित नायिका रेखा थापाले नेपालीलाई समाजमा महिलालाई हेरिने दृष्टिकोणका विषयलाई लिएर चित्त दुखाएकी छिन् ।

पछिल्लो समय फिल्मी भन्दा पनि राजनीतिक र सामाजिक अभियानमा व्यस्त लोकप्रिय नायिका थापाले पछिल्लो समयमा निक्कै घत लाग्दा शब्दहरु मार्फत जागरण शुरु गरिरहेकी छन् ।

समाज परिवर्तन र महिला हिँसाको बिरुद्धमा उभिएकी नायिका थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छन्:

एउटा युवती जसलाई किन सुनिँदैन ? किन देखिन्छ मात्रै ? बहुसंख्यक युवतीहरुले एउटा यस्तो परिबेशबाट गुज्रिनुपर्छ जहाँ मान्छेहरुलाई त्यो युवतीले बोलीरहदा एउटा अर्थहिनताबाट गुज्रिनुपर्छ ।

उसका सपना, महत्वाकांक्षा, कल्पनाहरु, देश, राजनीति, बिकास र तर्कहरु कुनै अर्थका हुँदैनन । किनकी उसको स्रोताहरुलाई ती युवतीका आँखा, कपाल, हाउभाउ, पहिरन र सुन्दरता तर्फ बढी आशक्ति हुन्छ । युवती बौद्धिकता र बिचारले प्रतिस्पर्धी आँखाबाट हेरिन्न । तिनका अभिब्यक्तिहरु थाहा नपाई श्रृंगारिक रङले लपेटी सकेका हुन्छन उसका स्रोताहरुले ।

युवती देखिन्छिन तर सुनिन्नन् किनकी उनीबाट सुन्न लायक कुराहरु केही आउँदैन भन्ने अनुमान हाबी हुन्छ । पिता, पुर्खा, ईतिहास, अर्थ, राजनीति, धर्म, समाज आदि सबै कुराको प्रभाव झेले पनि युवती बोल्ने बेला चाँहि अज्ञानी हुनुपर्छ किन ? के गाउँको बारेमा, समाजको बारेमा र भबिष्यको बारेमा युवतीको चेतना अछुत हुन्छ ? अज्ञानी हुन्छ ।

के एउटा युवतीका बहादुरिका कथा हुँदैनन ? के एउटा युवतीको मस्तिस्कमा देश बदल्ने बिचार आउँदैनन ? के एउटा युवतीको आँखामा ठूला सपना हुँदैनन ? के एउटा युवतीका स्वभाविक आक्रोश र समानताका माग हुँदैनन ? के एउटा युवतीमा भएको सर्वाधिक आकर्षक कुरा उसको शरीर मात्रै हो ? हाम्रो समाज युवतीलाई, बहिनीलाई, छोरीलाई, पत्निलाई सुन्ने गरी बनेको छैन ।

युवती गुनासो सुनाउने, पिडा सुनाउने, संरक्षण खोज्ने, रहर दर्शाउने पात्र मात्रै हो ? मलाई लाग्छ हरेक युवतीका ठूला सपना हुन्छन, महत्वाकांक्षा र मत हुन्छन । धेरैजसो ती सपना र बिचरहरुको मृत्‍यु उनी जन्मेको घरभित्रै हुन्छ र बाँकी उनको समाजमा ।

यदि हामी आफ्नी बहिनी र छोरीलाई माया गर्छौ भनेँ ‘निश्चित रुपमा गर्छौँ हाम्रो माया र सम्म्मानको उत्कृष्ट तरिका हो उनीहरुलाई सुन्ने । तपाईँ आफ्नो परम्परा र धारणाको चश्मा र कानका ढक्कन खोल्नु भो भने सुन्नु र देख्नु हुनेछ हरेक युवतीभित्र एउटा परिवर्तनको नायक छ । साँच्चै भन्ने हो भने एउटा नारी पात्रको सोच दिगो र लामो भविष्यसम्मको हुन्छ, किनकी उसको सपनाले जननी संवेग पनि समेटेको हुन्छ ।

हामी आजैबाट कसैलाई नसोधी र बजेट खर्च नगरी एउटा परिवर्तन शुरुवात गर्न सक्छौँ, त्यो हो – एउटा नारी पात्रको अभिब्यक्त्ति सुन्दा उसको बिचार र बौद्दिकतालाई प्रोत्साहन गरेर ।