
काठमाडौँ, २२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध फेसबुकमा अफवाहपूर्ण आरोप लगाएको आरोपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सहयोगीलाई हटाएका छन् ।
प्रचण्डले आफ्ना प्रेस संयोजक मनहरी तिमल्सिनालाई जिम्मेवारीबाट हटाएका हुन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका विषयमा लिएर तिमल्सिनाले ओलीविरुद्ध लेखेका थिए ।
सामाजिक सञ्जाल फेसबुकको ग्रुप च्याटमा ओलीविरुद्ध ‘क्याम्पेनिङ’ गरेको विषय भाइरल बनेको थियो । प्रचण्डसँगको भेटमा ओलीले तिमिल्सिना सचिवालयमा रहे/नरहेको सोधेका थिए ।
प्रचण्डले तिमिल्सिना आफ्नो सचिवालयमा रहेको जवाफ दिएपछि ओलीले आफ्नोबारे उनले जथाभावी लेखेको भन्दै हटाउन भनेका थिए । प्रचण्डले तत्कालै ‘एक्सन’ लिने जबाफ दिएका थिए । त्यसलगत्तै प्रचण्डले तिमिल्सिनालाई अबदेखि नआउन भनेका थिए । तिमिल्सिनाले गत बिहीबारबाटै प्रचण्डको सचिवालय छाडेको स्रोतले बतायो ।
आफ्नो नाममा नक्कली आइडी बनाएर नियोजित रुपमा बदनाम गराएको भन्दै तिमल्सिनाले प्रचण्डसँग सफाइ मागेका थिए ।
यता, तिमल्सिनाले आफ्नो आकस्मिक शल्यक्रिया भएको र ३ हप्ताको लागि आराम गरेको फेसबुकमार्फत जानकारी गराएका छन् ।
के लेखेका थिए उनले ?
तिमिल्सिनाले ओलीका तीन अवतार भन्दै ओलीविरुद्ध तीन आरोपहरु लगाएका थिए । उनले २०४६ देखि २०७२ सालसम्म दिल्लीभक्त, महाकाली सन्धिका प्रमुख योजनाकार, २०७२ असोजदेखि २०७४ माघसम्म चर्चित राष्ट्रवादी नेता, राष्ट्रका पहरेदार र ०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गरेको आरोप ओलीमाथि लगाएका थिए । प्रचण्ड प्रधानमन्त्री हुँदा उनको सचिवालयमा बसेका तिमल्सिना प्रकाश दाहालको निधनपछि प्रचण्डको दाहिने हातका रुपमा थिए ।















प्रतिक्रिया