
काठमाडौँ, १७ माघ । काठमाडौँमा शान्ति सुरक्षा भन्दा पनि कमाउधन्दामा लाग्ने प्रहरीका हाकिमहरु फन्दामा परेका छन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौँले पाँच प्रहरीमाथि अनुसन्धान थालेको हो ।
घटना – एक
बिहीबार दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटनालाई गुपचुप राख्ने प्रयास गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गका नायब प्रहरी उपरीक्षक तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मण ठकुरी, प्रहरी नायब निरीक्षक चन्द भण्डारीमाथि अनुसन्धान शुरु गरिएको छ ।
आरोपित प्रहरीलाई वृत्तबाट सरुवा गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए ।
शैलेश कार्की नामका एक युवकमाथि ती युवतीलाई होटलमा बोलाएर आफ्ना तीन साथीसहित बलात्कार गरेको आरोप लागेको छ ।
सामूहिक बलात्कारजस्तो घटनामा आरोपितहरुले पीडित युवतीलाई रकम दिएर मिलापत्र गरेको घटनामा वृत्तका प्रहरी अधिकृतहरुलाई सहयोग गरेको आरोप लागेको छ ।
प्रवक्ता जोशीले पीडित युवतीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।
उनले भने, “पीडितले प्रहरीमा लिखित रुपमा जाहेरी नै नदिएको देखिन्छ । पीडित भनिएकी युवतीसँग बयान लिएपछि मात्रै के भएको हो भन्ने थाहा हुन्छ ।”
घटनाबारे परिसरले गठन गरेको छानविन समितिका संयोजक समेत रहेका जोशीले घटनामा प्रहरीको कमजोरी भए/नभएकोबारेमा समेत अनुसन्धान भइरहेको जानकारी दिए ।
घटना – दुई
कलंकीस्थित एक होटलमा गत सोमबार छापा हानी जुवा खेल्ने समूहलाई भाग्न लगाई उनीहरुको साथमा रहेको चार लाख र मोबाइल लुटेर भागेको आरोपमा प्रहरीमाथि नै छानविन थालिएको छ ।
प्रहरी नायब निरीक्षक मोहनबहादुर मल्ल र प्रहरी जवान मनोहर बुढा जुवाखालमा छापा हानी रकम लिएर भागेको आरोपमा अनुसन्धानमा तानिएका छन् ।
लुटिएको रकम र मोबाइलबारे उनीहरुले आफ्नो माथिल्लो निकाय महानगरीय प्रहरी वृत्त कालिमाटीमा जानकारी नै गराएका थिएनन् ।
जुवा खेल्ने समूहका केही व्यक्ति आफ्नो मोबाइल लिन वृत्तमा आएपछि मात्रै घटनाबारे वृत्तले जानकारी पाएको थियो ।
परिसरका प्रवक्ता जोशीले जुवा खेल्नेलाई भगाई उनीहरुको साथमा रहेका रकम लुटेको देखिएको र दोषीमाथि कारबाही अगाडि बढाइएको जानकारी दिए ।
उनले भने, “लुटिएको भनिएको एक लाख ४० हजारमात्रै हामीले प्रहरीको साथबाट बरामद गरेका छौं तर, जुवाखालमा रहेकाहरुले चार लाख लुटेको आरोप लगाइरहेका छन् । ”
प्रहरी जवान बुढालाई निलम्बन गरिएको र नायब निरीक्षक मल्ललाई कारवाहीका लागि माथिल्लो निकायमा सिफारिश गरिएको पनि उनले जानकारी दिए ।















प्रतिक्रिया