२ कार्तिक २०८३, सोमबार

प्रहरी सफलता: यी रहेछन् भक्तपुरमा फिल्मी शैलीमा लुट्नेहरु

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ माघ । भक्तपुरमा फिल्मी शैलीमा लाखौं रुपैंया लुटिएको घटनामा प्रहरीले प्रारम्भिक सफलता प्राप्त गरेको छ ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ८ गणेश चोकस्थित मनोहर बस्नेतको घरमा डेरा गरी बस्ने रामबहादुर तामाङको डेराबाट माघ १० गते राति २ बजेतिर लाखौं रुपैँया लुटिएको थियो । पेस्तोल, खुकुरी देखाई घरभित्र छिरेका लुटेराहरुले हल्ला गरेमा ज्यान मार्ने धम्की दिँदै परिवारका सबैको हात खुट्टा बाँधेका थिए । त्यसपछि कोठामा भएका नगद तथा सुनका बिभिन्न गरगहना मोबाइल समेत गरी १६ लाख बराबरको धनमाल डकैती गरेका थिए ।

घटनालगत्तै अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उपत्यकाका बिभिन्न स्थानबाट लुटेराहरुलाई पक्राउ गर्न सफल भएको हो । उनीहरुलाई बुधबार भक्तपुर प्रहरीमा पठाइएको छ ।

प्रहरीले रामेछाप दोरम्बाका ४० बर्षीय भोजबहादुर थापा मगर, सिन्धुली मरिन गाउँपालिकाका ४० बर्षीय मिलन भनिने रत्नाबहादुर तामाङलाई सुरुमै पक्राउ गरेको थियो । यसअघि पनि बिभिन्न डाँका तथा चोरी मुद्दामा संलग्न रहेका उनीहरु २०७४ सालको गणतन्त्र दिवसको उपलक्ष्यमा जेल छुट भएका व्यक्तिहरु हुन् ।

यसैगरी, पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका वडा नं १ का बिष्णु भनिने २६ बर्षीय अमृत तामाङ, काभ्रे धुलिखेल नगरपालिका वडा न १० का २७ बर्षीय सानुकान्छा ब्लोन रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुबाट प्रहरीले साँढे ६ तोला पगालेको सुनको ढिक्का, एउटा मोबाइल, मोटरसाइकल बरामद गरिएको छ ।

घटनामा संलग्नमध्ये रामेछाप दोरम्बा गाउँपालिका ४ का टोकल भनिने २६ बर्षीय रोहितबहादुर थापा मगर, सिन्धुपाल्चोक मेलम्चीका वाईबा भनिने दिर्घबहादुर तामाङ, सिन्धुपाल्चोक घरभई ललितपुरको भैसीपाटी बस्ने ४३ बर्षीय बिनोद तामाङ फरार रहेको प्रहरीले जनाएको छ ।

यसरी भएको रहेछ घटना

– घटना गर्ने दिन साँझ ८ बजे भक्तपुर जगातेमा घटनामा संलग्न रहेका ८ जना भेट गरी पीडितको घर नजिक भेटभई खाजा खाई डाँका गर्ने घरको निगरानी गरेको ।

– राति ९ बजे पीडितको घर नजिक गणेश चोकस्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुन्जेलसम्म निगरानी गरेको ।

– राती २ बजे घरमा प्रवेश गरी सबै परिबारलाई नियन्त्रणमा लिई पेस्तोल, खुकुरी देखाई परिवारलाई नियन्त्रणमा लिई नगद, सुनका गरगहना, मोबाइल समेत डाँका गरी लगेको ।

– घर कम्पाण्डमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मोटरसाइल समेत चोरी गरेर लगेका ।

– घटनापश्चात लुटेराहरु मोटरसाइकल तथा पैदल बौद्द जोरपाटी आई नगद भाग लगाएको ।

– डाँका गरेका सुनका गरगहना डाँका घटनामा संलग्न बिष्णु भन्ने अमृत तामाङले मुर्तिको काम गर्ने सानुकान्छा तामाङलाई बिक्री गर्न दिई नगद २ लाख ९० हजार लिएको ।