काठमाडौं, १७ माघ । काठमाडौंका तत्कालीन सहायक सीडीओ र एक अधिकृतले भारतले जारी गरेको शरणार्थी कार्ड लिएका एक तिब्बतीलाई नेपाली नागरिकता दिएको खुलासा भएको छ ।
काठमाडौंका तत्कालीन सहायक सीडीओ हाल प्रशासन शाखाका उपसचिव ललित बस्नेत र नागरिकता शाखाका विजय गौतमको मिलेमतोमा कुङ्गा तेन्जिङ भुटिया भनिने तिब्बती तेन्जिङ लामालाई नागरिकता दिएको खुलासा भएको हो । बस्नेत हाल काठमाडौं सीडीओ कार्यालयमा प्रशासन उपसचिव र गौतम नाबालक शाखामा कार्यरत छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लामालाई नागरिकता दिन बस्नेत र गौतमको संलग्नता रहेको पुष्टि गरेसँगै सरकारी वकिलको कार्यालयमा उनीहरूविरुद्ध कारबाही गर्नुपर्ने राय दिएको थियो । तिब्बतीलाई नागरिकता दिएको घटनामा बस्नेत र गौतमको संलग्नता पुष्टि भएपछि गृह मन्त्रालयले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।
काठमाडौं महानगरपालिका– ६ का तत्कालीन सचिव रामप्रसाद पौडेलले लामालाई नागरिकता दिन सिफारिस गरेका थिए । सीआईबीले पौडेललाई कात्तिक १५ गते थापाथलीबाट पक्राउ गरेको हो । उनी हाल प्रहरी नियन्त्रणमा छन् । पौडेलभन्दा अघि सोही वडामा कार्यरत सचिव युवराज खनालले लामाको जन्मदर्ता गराएका थिए । उनी फरार छन् ।
नागरिकता बनाएपछि सीडीओ कार्यालयकै सिफारिसमा लामाले राहदानी बनाएका थिए । उनले नागरिकता लिएपछि जोरपाटीमा १० आना क्षेत्रफलमा रहेको घर किनेका छन् । केही समयपछि उनले कमलपोखरीमा अर्को घर किनेको अनुसन्धानबाट खुलेको छ ।
नेपाली नबोल्ने तिब्बतीलाई नागरिकता दिने क्रममा गौतम र बस्नेतले सामान्य सोधपुछसमेत गरेको देखिँदैन । कर्मचारीले लामासँग सोधपुछ गरेको भए तत्काल पक्राउ पर्ने थिए । नागरिकता दिने क्रममा व्यक्ति स्वयं सीडीओ कार्यालयमा उपस्थित हुनुपर्ने र आवश्यक परे सम्बन्धित अधिकारीले सोधपुछ गर्न सक्छन् ।















प्रतिक्रिया