सप्तरी, १६ माघ । खानेपानी संस्थान राजविराजले २०७४ पुस मसान्तसम्म एक करोड रुपैयाँभन्दा बढी बक्यौता रकम असुल गर्न बाँकी रहेको जनाएको छ ।
ग्राहकबाट रकम असुली नहुँदा कार्यालयको राजश्व संकलन प्रभावित भएको छ भने नयाँ ग्राहक थप्न समस्या भइरहेको छ । कार्यालयका अनुसार विभिन्न संघसंस्था, विद्यालय र सरकारी कार्यालयलबाट एक करोड ११ लाख ६० हजार रुपैयाँ बक्यौता रकम असुल्न बाँकी रहेको छ ।
पूर्व सचिव विन्देश्वरप्रसाद सिंहबाट एक लाख १२ हजार, जिल्ला साझा संघबाट एक लाख ३१ हजार, केशो अनिरुद्धवती माध्यमिक विद्यालयको १ लाख २९ हजार, पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको एक लाख २९ हजार रुपैयाँलगायत अन्यबाट पानीको महसुल असुल गर्न बाँकी रहेको खानेपानी संस्थान राजविराजले जनाएको छ ।
बक्यौता रकम बुझाउन कार्यालयले पटक पटक ताकेता गर्दा पनि बुझाउन नमानेका कतिपय ग्राहकको खानेपानीको धाराको लाइन काटिने कार्य शुरु गरेको संस्थानका लेखा अधिकृत अजय बरियैत यादवले बताए । विस २०५६ देखि संस्थानले वितरण गर्दै आएको खानेपानी धारा हाल राजविराज नगरपालिकाको दुई हजार ४७९ को घरमा जडान गरिएको छ । –रासस















प्रतिक्रिया