नयाँ दिल्ली, १६ माघ । नेपालका भुपेन्द्र थापा मगर भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार क्यामरुनका खेलाडी अल्बर्ट मान्गुए अयिस्सीलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्र ६४ केजी तौल समूहमा क्वाटरफाइनलमा पुगेका हुन् ।
दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा नेपाल पुलिस क्लबका भुपेन्द्रले क्यामरुनका अल्बर्टलाई ४–१ ले हराए । भुपेन्द्रले अब क्वाटरफाइनलमा भारतका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । नेपालका तेज बहादुर देउवा र परेम चौधरी भने बाहिरिएका छन् ।
४९ केजी तौल समूहमा तेज बहादुर देउवा इन्डोनेसियाका खेलाडीसँग अंकको आधारमा पराजित भए । त्रिभुवन आर्मी क्लबका देउवा इन्डोनेसियाका इलाही इङगाटनसँग ४–१ ले पराजित भए ।
यस्तै पुरुषतर्फको ५२ केजी तौल समूहमा आर्मी क्लबका प्रेम चौधरी भारत ए टिमका सालोन्की गौरवसँग ५–० ले पराजित भए ।
२३ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा हालसम्म १ कास्य पदक पक्का गरिसकेको छ । नेपालकी विमला श्रेष्ठले सेमिफाइनल पुग्दै कास्य पदक पक्का गरेकी हुन् ।















प्रतिक्रिया