काठमाडौं, १६ माघ । बाम गठबन्धनले सरकार बनाउने अन्तिम तयारी गरिरहेका बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने भ्रमणका लागि नेपाल आउने कार्यक्रम सार्वजनिक भएको छ ।
स्वराजले यसै साता नेपालको दुई दिने भ्रमण गर्ने निश्चित भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार स्वराजले बिहीवार र शुक्रवार नेपालको भ्रमण गर्नेछिन् ।
एमाले र माओवादीको बाम गठबन्धनले सरकार बनाउन बहुमत ल्याएर सरकार निर्माणको आन्तरिक तयारी सुरु गरेका छन् । नयाँ सरकार बन्ने तयारी भइरहेका बेला स्वराजको नेपाल भ्रमणलाई महत्वका साथ नेताहरूले लिएका छन् ।
‘दुई देशबीच नियमितरुपमा उच्च स्तरीय राजनीतिक भेटघाट गरिरहने परम्परालाई निरन्तरता दिंदै द्विपक्षीय साझेदारी थप विस्तार गर्न एवं दुवै मुलुक सामेल भएका विविध क्षेत्रका गतिविधिलाई मजवुद पार्न भ्रमण केन्द्रीत हुनेछ’, सोमबार साँझ जारी विज्ञप्तिमा भनिएको छ ।
काठमाडौंमा रहँदा विदेश मन्त्री स्वराजले विभिन्न राजनीतिक दलका नेताहरूसँग आपसी हितका विषयमा कुराकानी गर्नेछिन् । नेताहरूको भेटका लागि भारतीय राजदूतावासले आन्तरिक तयारी गरेको छ ।
दुवै मुलुकको वर्षौ पुरानो मित्रवत सम्बन्धलाई थप मजबुद पार्ने प्रयास गर्नेछिन्, भारतीय विदेश मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।
















प्रतिक्रिया