
काठमाडौं, १५ माघ । राजधानीमा एउटा फिल्मी शैलीको लुटपाट भएको छ । घटना हो, भक्तपुर सिपाडोलको । पेस्तोल देखाएर लुटपाट मच्चाएका लुटेराहरुले सम्पत्ति लुटिसेकपछि भने अनौठो व्यवहार देखाएका छन् ।
काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई भक्तपुरको सिपाडोलमा कुखुरा व्यवसाय गर्दै आएका राम तामाङको परिवार लुटिएको हो । लुटेराहरुले १० वटा मोबाइल, एउटा मोटरसाइकल, करिब १८ तोला सुन, एक लाख ६२ हजार रुपैयाँ नगद लुटेको पीडितले बताए । बुधबार राति साँढे २ बजेतिर घरको पर्खाल नाघेर कम्पाउण्डमा प्रवेश गरेका उनीहरु ढोकाको चुकुल खोलेर घरभित्र छिरेका थिए। पेस्तोल, खुकुरी, रड र घरेलु हतियार लिएर आएका लुटेरालाई परिवारले भएभरको सबै सम्पत्ति दिएका थिए ।
तर, रकम लुटिसकेपछि भने लुटेराहरुले अचम्मको व्यववहार देखाएको तामाङ परिवार बताउँछन् । सुरुमा पेस्तोल बोकेर तर्साएका एक लुटेराले सबै सम्पत्ति लिइसकेपछि पीडितका छोराको गाला सुम्सुम्याएर किस खाएर निस्केका थिए ।
भक्तपुरका डिएसपी कृष्ण प्रसाईका अनुसार, घटनाको दुई घण्टापछि मात्र प्रहरीले थाहा पाएको थियो । चिनेजानेको व्यक्तिहरुकै योजनामा घटना भएको हुनसक्ने प्रहरीको आशंका छ ।















प्रतिक्रिया