५ कार्तिक २०८३, बिहिबार

आरन व्यवसायबाट मनग्य आम्दानी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १३ माघ । पछिल्लो समय लोप हुँदै गएको आरन पेशाबाट यहाँका एक व्यक्तिले मनग्य आम्दानी गरिरेहका छन् । परम्परागत रुपमा दलित समुदायले गर्दै आएको कृषि औजार तथा भाँडाकुँडा बनाउने आरन पेशा पछिल्लो समयमा लोप हुँदै गएको बेला यसलाई व्यावसायिक रुपमै सञ्चालन गर्ने हो भने राम्रो आम्दानी हुने उदारहण प्रस्तुत गरेका छन् पुर्चौडी नगरपालिका–५ कुवाकोटका दिले लुहारले ।

बाउबाजेको पालादेखि घरमै आरन व्यवसाय गर्दै आएका लुहारलाई कृषि औजार र मूर्ति बनाउन कुनै तालीम लिनु परेन । घरमै आरन उद्योग सञ्चालन गरेका लुहारले कुटो, कोदालो, फरुवा, बन्चरो, हँसिया, खुकुरी, दावा, खुर्पालगायतका घरायसी कृषि औजार र देवीदेवताका मूर्ति बनाउने गरेका छन् । साथै उनले फलाम, तामा र सिल्भरका विभिन्न डिजाइनका भाँडाकँुडा जस्तै गाग्री, लोटा, डाडु, पन्यु डेक्ची, कडाई, अम्खोरा, करुवालगायत पनि बनाउने गरेका छन् ।

यो व्यवसायबाट उनले मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ । सीप र जागर भएमा गाउँमै स्वरोजगार बन्न सकिने आरन व्यवसायी लुहारको भनाइ छ । ‘महिनाको ३० हजार रुपैयाँसम्म कमाइ हुन्छ’ उनले भने, ‘मेहनत गर्नसके स्वरोजगार बन्न सकिँदो रहेछ ।’

पछिल्लो समय जिल्लामा कृषि व्यवसाय विस्तार हुँदै जाँदा कृषि औजारको पनि माग बढेकाले अहिले यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको व्यवसायी लुहारले बताए । परम्परागत रुपमा आफ्नै बाउबाजेले गर्दै आएको पेशा, व्यवसायलाई आधुनिकीकरण गर्ने हो भने आफ्नै गाउँ ठाउँमा स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन् । आरन पेशा व्यावसायिक बनेपछि अहिले घरखर्च चलाउन सहज भएको लुहारले बताए ।

खलो प्रथा छाडेर व्यावसायिक बन्दै

बैतडीका ग्रामीण क्षेत्रमा प्रायः दलित समुदायले मात्रै आरन पेशा आंगाल्दै आएका छन् । लामो समयदेखि व्यावसायिक बन्न नसकेका उनीहरु अहिले चेतनाको विकाससँगै परम्परागत पेशाबाटै मनग्य आम्दानी गर्ने गरेका छन् ।

‘पहिले पहिले मालिकको घरबाट भाँडाकुँडा बनाइदिएको सट्टा थोरै अन्न लिने गरिन्थ्यो, अहिले नगदमै कारोबार हुन्छ’ कटौजपानीका प्रकाश पार्कीले भने । औजार बनाएको तथा पुराना औजारमा धार लगाएबापत पहिले घरघरमा पुगेर अन्न लिने प्रचलनलाई खलो प्रथा पनि भन्ने गरिएको छ । पछिल्लो समय चेतनास्तरमा विकास हुँदै गएपछि दलित समुदाय खलो प्रथा छोडेर व्यावसायिक बन्दै गएका छन् ।

रोजगारी छैन भन्दै खाडीमुलुकमा पसिना बगाउन जाने युवाले यी व्यवसायीबाट पाठ सिक्न जरुरी रहेको पुर्चौडीका स्थानीय विक्रम कुँवरको भनाइ छ । सरकारले पनि देशमा रोजगारी सिर्जना गर्नका लागि यस पेशाको व्यावसायिक तालीम सञ्चालन गरी साना व्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक रहेको स्थानीय बुद्धिजीवीको भनाइ छ । –रासस